
धादिङ
जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्यताका साथ मनाऔं, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौंँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९औं राष्ट्रिय दिवसको अवसरमा धादिङको गल्छीमा दलित अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
अन्तरसम्वाद कार्यक्रममानेपाल उत्पीडित जातीय मुक्ती समाज नेपाल जिल्ला समिति, धादिङको आयोजना तथा अध्यक्ष राम बहादुर बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुक्ती समाज नेपालका केन्द्रीय सदस्य दिल बहादुर रम्तेल, विशेष अतिथि गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, समाजसेवी तथा सिड्स नेपालका कार्यक्रम निर्देशक गोकर्ण रुपाखेती, नेकपा एमाले बागमती प्रदेश सदस्य एवं क्षेत्र नं १ (ख) इन्चार्ज ध्रुब विश्वकर्मा लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष बिकले जातीय भेदभाव अन्त्यका लागि सशक्त राष्ट्रिय नीति निर्माण, समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन, शिक्षा, रोजगारी र न्यायमा दलितको पहुँच, छुवाछूतजन्य घटनामा तत्काल कानुनी कारबाहीको ग्यारेन्टी, दलित लक्षित बजेटको पारदर्शी कार्यान्वयन, सीपमूलक तालिम, सार्वजनिक स्थानमा समान पहुँच, सचेतनामूलक अभियान, दलित युवाका लागि नेतृत्व विकास, मिडिया र पाठ्यक्रममार्फत सहिष्णुता र समानता, तथ्यांक संकलन तथा विश्लेषण, गाउँपालिकामा दलित प्रतिनिधिको सक्रियता, पूर्वाधार विकासमा प्राथमिकता, मुक्त कमैया–कमलरी समस्या समाधान र समावेशिताको मापन गर्न अनुगमन संयन्त्र निर्माणजस्ता विषयहरूमा जोड दिनुभयो।
प्रमुख अतिथि दिल बहादुर रम्तेलले छुवाछूतको अन्त्य, सामाजिक न्याय र दलित समुदायका हक–अधिकार सुनिश्चितताका लागि अझै सशक्त अभियान आवश्यक रहेको बताउनुभयो। गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले संविधान प्रदत्त दलित अधिकार कार्यान्वयनमा पालिका सधैं तत्पर रहेको प्रतिवद्धता जनाउनुभयो। यस्तै, नेता ध्रुब बिकले तथ्यांक र कानुनी संरचना सुदृढ गर्न सबै दल, सरकार र सरोकारवाला एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।