 
                                                                                                      धादिङ ।
मनसुनजन्य विपद पूर्व तयारीमा जिल्लाका सबै किसिमका सुरक्षा निकाय रहेको छ ।
जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मनसुनजन्य विपद पर्नसक्ने स्थानहरुको पहिचान, सुरक्षा निकाय लगायतबाट पूर्व तयारी योजना निर्माण, विपद पूर्व गर्नुपर्ने कार्यमा सचेतना अभिवृद्धि गर्दै विपद परिहालेमा उद्धार, राहत र पुनस्थापनाका लागि तयारी रहेको बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको भौगोलिलक विविधता, यस पहिला भएका विपदको आँकलन समेत गर्दै हाल निर्माणििधन पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा समेत हुनसक्ने विपदको लागि पूर्व तयारी गरिएको बताउनुभयो ।
धादिङमा सबैभन्दा धेरै पहिरोको जोखिम छ । यससंगै बाढी, चट्याङ, हुरीबतास आदीको विपदले जिल्ला आक्रान्त हुँदै आएको छ ।
राजमार्ग क्षेत्रमा हुने पहिरोले यातायात सेवा अवरुद्ध हुने र धनजनको क्षती हुने विगतको अनुभवलाई समेत आधारमानेर जिल्ला विपद व्यवस्थापन समितिले पूर्व तयारी योजना बनाएको छ भने जिल्ला सुरक्षा समितिको बैठकले समेत विपदको आँकलन र बच्ने उपायबारे तयारीमा रहेको घिमिरेको भनाइ छ ।
पत्रकारहरुसंगको अन्तरक्रियामा धादिङमा लागू औषध दुरुपयोग नियन्त्रण, आत्महत्या रोकथामका बारेमा समेत छलफल गरिएको थियो ।
जिल्ला प्रशासन कार्यलय धादिङको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष, विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले लागू औषधको प्रयोग दिनानु दिन बढ्दो रहेको र यसको प्रभाव समाज, शिक्षा, युवापुस्ता र कानुनी सुरक्षामा गम्भीर देखिएको बताउनुभयो । उहाँले आत्महत्या जस्ता संवेदनशील विषयमा खुला संवादको खाँचो रहेको र पत्रकारहरूले सकारात्मक सूचनाको प्रवाहमार्फत जनचेतना अभिवृद्धि गर्न सक्ने ठूलो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले धेरैजसो आत्महत्या र लागू औषधसम्बन्धी घटनाहरू सञ्चारमाध्यममा गम्भीरतापूर्वक सम्बोधन हुन नसकेको बताउनुभयो ।
उहाँले समाचारको रूपमा मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा यस्ता विषय उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मनसुनजन्य विपद्मा सूचनाको तीव्रता र तथ्यपरकता अझ बढाउन आग्रह गर्दै विपद्को समयमा सही सूचना नै जीवन र मृत्युको आधार हुनसक्ने भएकाले पत्रकारहरूले जिम्मेवार पत्रकारिताको अभ्यास गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा अन्य पत्रकारहरूले पनि लागू औषध, आत्महत्या र विपद् विषयलाई प्राथमिकता दिन सुझाव दिँदै आफूहरू सदैव सकारात्मक अभियानमा संलग्न हुने प्रतिबद्धता जनाएका छन् ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    