कविता :- अब्रोड भोक

कविता :- अब्रोड भोक

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २, २०८२

  • 428
    SHARES
कविता :- अब्रोड भोक

✍️ अजिता दहाल “क्रान्ति” 

मलाई थाहा हुदैन मेरा कविता कस्ता हुन्छन् तर कविता लेखिरहँदा प्राय मेरा आँखा भरिएका हुन्छन्।गला अवरुद्ध हुन्छन्। तैपनि प्रबाह रोकिएको हुँदैन । तर यो कविता लेखिरहँदा म धेरै पटक रोकिएँ

——————————————————-

अब देशले पेट भर्न छोडेको छ,
मन भर्ने त परै जाओस्।
अब्रोडको भोकले गाँजेको छ
हर एउटा बस्ती,
घर–घरका निधारमा भिसाको सपना सुत्छ।
बच्चा १६ लाग्दैछ,
अब त कन्सल्टेन्सी धाउनुपर्छ,
‘भोलिका लागि तयारी हो’ भन्छन् बाबु–आमा।

कुन किताब पढिरहेको छ ?
कति नम्बर ल्यायो?
भन्दैनन् अब।
अब त सोधिन्छ—
‘आईएलТС को मिति कहिले छ?’
‘बैंक स्टेटमेन्ट पुगेन त !’
‘दाई, स्पोन्सर बन्न सक्नुहुन्छ?’

गाउँका गोठालोका छोराहरू
समुन्द्र हेर्न आतुर छन्,
सहरका स्कुले बच्चाहरू
विदेशी कलेजको नाम कन्ठ गरिरहेका छन्।
देश?
देश त भुइँचालोको झट्काजस्तै
मुटु हल्लाएर बसेको छ,
बच्चा विदेश गएको दुःख भन्दा
एयरपोर्टको सेल्फीमा रमाउने बानी लागेको छ।

‘देश खत्तम भइसक्यो’
‘यहाँ के गर्नु?’
भन्ने वाक्यहरू नास्ताको रूपमा खाइन्छ,
‘फलानो देशमा फलानो कोर्स पढ्न जान्छ मेरो छोरो’
भनेर दिउँसोभर गफिइन्छ।
र, बेलुकासम्म
कति ऋण लिने, कति बेच्ने
गणना गरिन्छ।

सपना बेचिन्छ–
शिक्षाको नाममा।
माया बेचिन्छ–
राष्ट्रको नाममा।
देश बेचिन्छ–
अब्रोडको भोकमा।

आमा भन्छिन्—
‘नानू, राम्रोसँग कमाउ है’
बाबु भन्छन्—
‘पढ्न त नपाए पनि, पठाइ पठाइ पैसा चाहिन्छ।’
बच्चा भन्छ—
‘देश सम्झनै गाह्रो हुन्छ अब।’
र देश?
देश बोल्दैन।
देश चुप लाग्छ।
किनकि उसले आफ्ना छोराछोरीहरू
अब्रोडको भोकमा हराएको हेर्न मात्र बाँकी छ।

(२०८२/०२/०१)


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar