धादिङ
धादिङ अस्पतालमा पाठेघर खस्ने समस्या सम्बन्धी दुई दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ।
बाग्मती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजना, जनस्वास्थ्य कार्यलय धादिङको सहयोगमा आजदेखी निशुल्क शिविर सन्चालन गरीएको हो ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीका अनुसार शिविरमा किस्ट मेडिकल कलेजमा कार्यरत बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. यम दुवाको टीमले शल्यक्रिया गरेको हो । शिविरको पहिलो दिन आज ११ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेशन गरीएको डा. अधिकारीले बताउनुभयो ।
शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने यस्ता कामहरुमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
ग्रामीण क्षेत्र र शहरी क्षेत्रमै पनि लुकेर बसेका यस्ता स्वास्थ्य समस्याहरुको न्यूनीकरणको लागि स्थानिय तह र अस्पताल मिलेर काम गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोड दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले महिलाहरुले पाठेघर खस्ने समस्या लुकाउन बाध्य रहेको बताउदै यस्ता समस्याहरुलाई समाधान गर्नको लागि शिविरले थप मद्धत पुग्ने अपेक्षा लिएको बताउनुभयो ।