गजुरीका सदानन्द कँडेका दुई कृति लोकार्पित

गजुरीका सदानन्द कँडेका दुई कृति लोकार्पित

  • Kandara Samachar

  • आइतवार, जेष्ठ १२, २०८२

  • 410
    SHARES
गजुरीका सदानन्द कँडेका दुई कृति लोकार्पित
  • प्रविण रिजाल/ काठमाण्डौँ ।

गजुरी गाउँपालिका वडा नम्बर २ मा जन्मिनुभएका शिक्षाविद तथा साहित्यकार डा. सदानन्द कँडेलद्वारा रचनागरिएको दुई ओटा पुस्तकको शनिबार लोकार्पण गरिएको छ ।
“शैक्षिक आकाशका उज्ज्वल नक्षत्र” नेपालका वरिष्ट शिक्षाविद, शिक्षासेवीहरुको जिवनी र “झुल्को आँखामा“ गीत संग्रहको
एक मारोहका विच लोकार्पण गरिएको हो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, नेपा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. बासुदेब त्रिपाठी, पूर्व उपकुलपति केदारभक्त माथेमा, त्रिभुभव विश्वविद्यालयका प्राडा. विद्यानाथ कोइराला, स्कुल अफ एजुकेशन काठमाण्डौ विश्वविद्यालयका पूर्व डिन प्रा.डा. मनप्रसाद वाग्ले साहित्यकार श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, प्रा.डा.अन्जना भट्टराई, प्रा.डा. बालचन्द्र लुइटेल लगायतले “शैक्षिक आकाशका उज्ज्वल नक्षत्र” र “झुल्को आँखामा“ को सामुहिक रुपमा लोकार्पण गर्नुभएको थियो ।
पुस्तक लोकार्पण समारोहमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहिसकेका प्रा.डा. सुरेश शर्माले आफ्नो अनुभुति बारे भन्नुभयो, ‘हामीले आफैंलाई राम्रो बनाउन खोज्यौं होला तर देशलाई राम्रो गर्न कसले सोच्यो ? देश बनाउने भनेको के हो ? जे गर्छौँ त्यो भैरहेको छ, गरिरहेका छौं कि छैनौं बेलाबेलामा समीक्षा हुनुपर्छ । हामीले पढ्ने बेलामा उति सजिलै पढ्न पाइएन । पाएका मध्ये पनि देशमा बस्ने अवसर थिएन । आफूले पढ्दा अनुसन्धान गर्न विदेश जान बाध्य भएँ । त्यसपछि त्रिविविमा सेवा गरें । यति महँगा उपकरण थिए कि देशमा त्यो उपलब्ध नै थिएन । रसायनशास्त्र पढेको म राष्ट्रिय शिक्षा समितिमा काम गरें । रसायनशास्त्र व्यवहारमा उतार्न पाइनँ । विदेश जान मन लागेन ।’ उहाँले देश विग्रन लागेकोमा चिन्ता व्यक्त गर्दै देश बनाउन सबैको प्रतिवद्धता आवस्यमक रहेको बताउनुभयो ।
त्रिविविका पूर्वउपकुलपति एवं पूर्व राजदुत केदारभक्त माथेमाले आफू शिक्षाक्षेत्रबाट भगाइएको मान्छे भन्दै नेपालले शिक्षाको सही बाटो नलिएकोमा चिन्ता प्रकट गर्नुभयो । सामुदायिक विद्यालय र शिक्षा बलियो बनाउनुपर्ने बताउँदै सामुदायिक शिक्षाबाट नै हो समाज विकास हुने तर यो कुनै पनि राजनीतिक पार्टीका नेताबाट सुनिएन । अहिले उच्च शिक्षामा पनि गडवडी छ । उच्च शिक्षामा राजनीतिकरण भएकोमा आपत्ती जनाउनुभयो ।
प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले विदेशिने संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै आफुलाई पनि विदेश जाने चाहना तर आफू विदेश नजाने उल्लेख गर्दै नेपाली भाषा सम्वृद्ध होस, शिक्षा विश्वस्तरीय होस् भन्ने चाहना रहेको बताउनुभयो ।
शिक्षाविद प्रा.डा. मनप्रसाद वाग्लेले शिक्षा र साहित्यको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै निराश नहुन र आशावादी चेत जगाउन आग्रह गर्नुभयो ।
प्रा.डा. विद्यानाथ कोइराला, नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । ।
कार्यक्रममा लोकार्पित कृति ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र‘ माथि प्रा.डा. बालचन्द्र लुइटेलले अनुसन्धानमूलक ढंगले जीवनी लेख्न खोजिएको भन्दै कृतिको अनुसन्धानको क्षेत्रमा लाग्नेहरुको निम्ति महत्वपूर्ण भएको बताउनुभयो । वभिन्न विश्वविद्यालय, सिटिभिटी कसरी बन्यो भन्ने जान्न चाहानेको लागि जानकारीमूलक पुस्तक रहेकोले उच्च शिक्षामा आधुनिकीकरणको विषय समेत यसमा रहेको हुँदा अनुसन्धानको लागि सन्दर्भ सामग्री हुनसक्नेमा जोड दिनुभयो ।
“शैक्षिक आकाशका उज्ज्वल नक्षत्र” जिवनी संग्रहमा गुरु तथा विद्यालय, महाविद्यालय र विश्वविद्यालय स्थापनाका सारथिरू जनस्तरबाट सञ्चालित पहिलो पाठशालाका संस्थापक गुरु षडानन्द अधिकारी, पहिलो नेपाली पाठ्यपुस्तक लेखक तथा शिक्षाका पथप्रदर्शक जयपृथ्वीबहादुर सिंह, खिदिमका ज्योति महान्तम हेडगुरू पं. दधिराम मरासिनी, पहिलो नेपाली हेडमास्टर एवम् कर्मवीर उपकुलपति रूद्रराज पाण्डे, पहिलो स्नातकोतर महाविद्यालयका जन्मदाता गुरू शंकरदेव पन्त, शैक्षिक विकासका घरोहर असल गुरू जोर्ज जोन, काठमाडौं विश्वविद्यालयका संस्थापक तथा कर्मयोगी शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा, सामुदायिक चिकित्साका पहिलो नेपाली प्राध्यापक प्राडा मथुराप्रसाद श्रेष्ठ, गणित शिक्षा आधुनिकीकरणका सारथि प्रा.डा. राममान श्रेष्ठ, नेपाली साहित्यका पहिलो विद्यावारिधि महासमालोचक गुरू प्रा.डा. वासुदेव त्रिपाठी, भाषा नीतिनिर्माणमा प्रखर भाषावैज्ञानिक गुरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, संरचनात्मक र भूकम्प इन्जिनियरिङका अब्बल गुरू प्रा.डा. प्रेमनाथ मास्के, शैक्षिक अनुसन्धान तथा नीतिनिर्माणमा पोख्त गुरू प्रा. डा. विद्यानाथ कोइराला, अनुसन्धानको गहिराइमा डुबुल्की मार्न सिकाउने गुरु प्रा.डा.मनप्रसाद वाग्ले, अन्तर्राष्ट्रिय कानूनका ज्ञाता गुरू प्रा.डा. सूर्यप्रसाद सुवेदी, महिला शिक्षाकी अग्रदूत् सहाना प्रधान, पहिलो नेपाली महिला प्रिन्सिपल अंगुरबाबा जोशी, कुशल शैक्षिक प्रशासक डा. इश्वरप्रसाद उपाध्याय, सार्वजनिक शिक्षाका अभियन्ता तथा स्वप्नद्रष्टा उपकुल

पति केदारभक्त माथेमा, दानवीर शिक्षासेवीहरू नेपालका अग्रणी शिक्षासेवी कृष्णप्रसाद कोइराला, कर्णालीका अगुवा शिक्षासेवी अदनसिंह कठायतको जिवनी संग्रहमा समाबेश गरिएको छ ।

गीतसंग्रह ‘झुल्को आँखामा’ बारे आफ्नो धारणा राख्दै प्रा.डा. अन्जना भट्टराईले चार अध्यायमा गीतहरु रहेको, आमाप्रति समर्पित, थातथलोको स्मरण, महिलाका पीडाहरु, प्रेम लगायतका विषयहरुमा गीतहरु रहेको बताउनुभयो । बालगीतहरु पनि कृतिले समेटेको जानकारी दिइन् । ६० वटा गीत भएको पुस्तकमा प्रेम, लोककाव्यगत, प्रकृतिका बिम्बहरु रहेको जानकारी दिनुभयो ।
कृतिका स्रष्टा डा. कँडेलले रचनागर्भ बारे आफ्नो अनुभव र अनुभूति सुनाउँदै दुख गरेर कृत्रि जन्माएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष रोदनले शैक्षिक क्षेत्रमा बहिर प्रकाशमा नआएका धेरै कुराहरु जीवनी बिम्बले ल्याएको भन्दै जीवनी लेख्ने फेसन बनेको वर्तमान समयमा भ्रष्टाचारीहरु हत्कडी पटक पटक लगाएर जेल चाहार्नेहरु पैसा खर्चेर अरुलाई जीवनी लेखाउँने प्रचलन बढेको अवस्थामा मुलुककै शैक्षिक क्षेत्रलाई उठाउन जीवनभर लागिरहेका व्यक्तित्वहरुको बारेमा यस प्रकारको जीवनी आउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

 

 

लेखक डा. सदानन्द कँडेल

जन्म मिति: वि.सं. २०२० कात्तिक ११ गते सोमबार

जन्मस्थान : गजुरी गाउँपालिका २, अमिल्टार, धादिङ, बागमती, नेपाल

हालको ठेगाना : नागार्जुन न.पा.-१०, स्युचाटार सालिक चोक, काठमाडौं

प्रकाशोन्मुख कृक्ति : सौंराइ सुदूरपश्चिमकी (नियात्रासङ्ग्रह)

सम्पादन तथा फुटकर प्रकाशन :

विकास, सामुदायिक विकासमा अन्तरक्रिया र उत्प्रेरणाको निम्ति प्रकाशित पत्रिका (२०४९-२०५१), Amp Pipal Hospital 25th Anniversary (1994), सङ्गम (२०३९) लगायतका पुस्तकहरूको सम्पादन

A Brief Biography of Rudra Raj Pande (2021), The Routledge Encyclopedia of Modern Asian Educators.

इटली र भारतबाट प्रकाशित विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानात्मक लेखहरू प्रकाशित

त्रैमासिक, साप्ताहिक र दैनिक पत्रपत्रिका; साहित्यिक पत्रिका, संघसंस्थाका स्रोतपुस्तिका, बुलेटिन तथा स्मारिकाहरूमा खोजमूलक लेखरचना, नियात्रा, संस्मरण, जीवनी, गीत, कथा, कविता, मुक्तक र बाछिटा प्रकाशित

विभिन्न पाठ्यपुस्तक, स्रोत पुस्तिका, साहित्यिक तथा अन्य पत्रिकाहरूमा संस्मरण, जीवनी र जीवनी प्रकाशित ।

पेशागत आबद्धता :

सदस्य, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५; नेपाल सरकार

वरिष्ठ शिक्षा सल्लाहकार, अस्ट्रेलियाली दूतावास, काठमाडौं

राष्ट्रिय परामर्शदाता/अनुसन्धाता, युनिसेफ नेपाल, ललितपुर

परामर्शदाता/अनुसन्धाता, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, ललितपुर

प्रारम्भिक बाल विकास र सिकाइ संयोजक, प्लान इन्टरनेसनल नेपाल, राष्ट्रिय कार्यालय, ललितपुर

शिक्षा कार्यक्रम विशेषज्ञ, प्लान इन्टरनेसनल नेपाल, बाँके-सल्यान

अनौपचारिक शिक्षा परामर्शदाता, युनाइटेड मिसन टु नेपाल, सामुदायिक स्वास्थ्य कार्यक्रम, आँपपिपल, गोरखा

तालिम तथा प्रकाशन अधिकृत, आत्मनिर्भर विकास मञ्च, काठमाडौं,

फिल्ड को अर्डिनेटर, युनेस्को ग्रामिण विकासको निम्ति शिक्षा परियोजना, डोटी

प्राध्यापन तथा शिक्षण महेन्द्ररत्न क्याम्पस, ताहाचल; वागेश्वरी मावि, बैरेनी; महाकाली मावि, सिम्ले; भूमेकाली प्रावि, बलिडाँडा; र हर्कपुर प्रावि, हर्कपुर, धादिङ

अनगन्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक अनुसन्धानहरूमा राष्ट्रिय शिक्षा विज्ञ, टिम लिडर तथा अनुसन्धाताको भूमिका निर्वाह गरेको

हाल स्वतन्त्र अनुसन्धाता तथा लेखकको रूपमा सक्रिय ।

संस्थागत संलग्नता :

अध्यक्ष, ठाकुरप्रसाद शर्मा प्रतिष्ठान

उपाध्यक्ष तथा आजीवन विशिष्ट सदस्य, नेपाल स्रष्टा समाज

आजीवन सदस्य, नियात्रा समाज नेपाल

आजीवन सदस्य, फित्कौली हास्यव्यङ्ग्य पत्रिका

आजीवन सदस्य, कम्प्यारेटिभ एजुकेसन सोसाइटी अफ इन्डिया

सल्लाहकार, आदर्श बहुमुखी क्याम्पस, गजुरी, धादिङ

सल्लाहकार, एएमसी जर्नल, गजुरी, धादिङ

सल्लाहकार, अर्ली बड्स मन्टेस्वरी सेन्टर ।

पदक /सम्मान : नेपाल विद्याभूषण ‘क’ तथा विभिन्न शैक्षिक संस्थाहरूबाट सम्मान प्राप्त ।

विदेश भ्रमण : अस्ट्रेलिया, इक्वेडर, इजरायल, इन्डोनेसिया, कतार, कोलम्बिया, चीन, जर्मनी, जोर्डन, थाइल्यान्ड, नेदरल्यान्ड, प्यालेस्टाइन, फ्रान्स, फिलिपिन्स, बङ्गलादेश, भारत, यूएई र सिङ्गापुर ।

स्वदेश भ्रमण : नेपालका मनाङ र डोल्पा बाहेकका पचहत्तर जिल्लाहरू ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar