
धादिङ ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-नाैबिसे
सडक खण्ड जेठ १० देखि जेठ २५ गतेसम्म दैनिक साँढे ४ घण्टा बन्द गरिने भएको छ ।
नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साँढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको हो ।
आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बन्द गरेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयाे।
यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । अहिले दिउँसाे बन्द गरेर निर्माणकाे काम तिब्र रुपमा गर्न लागेकाे सडक आयाेजनाले जनाएकाे छ ।
निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि प्राविधिक रुपमा निर्माण दिउँसो गर्नुपर्ने भनेपछि बन्द गरेर निर्माण गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुरोध गरेका छन् ।
सो अवधिमा उक्त सडक खण्डमा अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गर्न सकिने सडक आयोजनाले जनाएको छ ।
हाल उक्त सडकको १५०० मिटर सडकको कालोपत्रे भत्काउने कार्य सकिएको आयोजना प्रमुख ईन्जिनयर केशवप्रसाद ओझाले जानकारी दिनुभयाे ।
सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।
यसैगरी नौबिसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।
बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल लगायतका अत्यावश्यकीय सेवाका सवारी साधन भने आउजाउ गर्न पाउनेछन् ।
वैकल्पिक मार्गको व्यवस्था
अरु यातायातका साधनमा सवार चालक तथा यात्रुहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था पनि गरिएको छ ।
वैकल्पिक मार्गहरू यस्ता छन्-
१. सितापाइला-भीमढुंगा-रामकोट-धार्के सडक मार्ग
२.सामाखुसी-टोखा-गुर्जे भञ्ज्याङ-छहरे-त्रिशूली (बेत्रावती)-गल्छी सडक मार्ग
रोकिएका सवारी साधनहरुलाई अपरान्ह ४ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइने बताइएको छ ।