
काठमाडौं ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पूर्वराजावादी आन्दोलनका नाममा मिडिया माथि सुनियोजित आक्रमण भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालको पाँचौँ केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले राजावादीलाई आन्दोलन गर्न उक्साउने सञ्चार संस्थामा कार्यरत पत्रकारलाई समेत आन्दोलनकारीहरूले आगो लगाएर जलाएका पाण्डेले बताउनुभयो । शुक्रबार राजावादीहरूले आन्दोलनको क्रममा तीनकुनेको एउटा घरमा आगो लगाएर एभीन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकलाई थुनेर हिँडेका थिए । सो घटनमा परी पत्रकार रजकको ज्यान गएको थियो ।
पाण्डेले सुरेश रजकको मृत्यु नभएर सुनियोजित हत्या भएको बताउनुभयो । ‘लुटपाट गरेपछि आतङ्ककारी जत्थाले उहाँलाई थुनेर हत्या गरेको छ, यो हत्या र घटनाको म निन्दा र भर्त्सना गर्दछु’, उहाँले भन्नुभयो ।
प्रेस चौतारी नेपालको टोलीले आक्रमणकारीले क्षति पुर्याएका सञ्चार माध्यम र आक्रमणबाट जोगिन सफल भएका पत्रकारहरूसँग भेटेर कुरा गरेको उहाँले जानकारी दिनुभयो । रिपोर्टिङका लागि गाडीमा जाँदै गरेको पत्रकारलाई समेत आक्रमणकारीले हत्या प्रयास गरेको पाण्डेले बताउनुभयो ।
पाण्डेले देशमा आतङ्क सिर्जना गर्न चाहने प्रतिक्रियावादीलाई खबरदारी पनि गर्नुभयो । नेपालको प्रगतिलाई रोक्न चाहने शक्तिका विरुद्ध नेपाली पत्रकार एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।