अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाको उम्मेदवारी घाेषणा

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाको उम्मेदवारी घाेषणा

  • Kandara Samachar

  • बुधबार, अशोज २१, २०८३

  • 37
    SHARES
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाको उम्मेदवारी घाेषणा

 

धादिङ ।
अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि अमेरिकामा बस्दै आएका सामाजिक अभियन्ता बद्री खतिवडाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ। समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएपछि नयाँ नेतृत्वका लागि आकांक्षीहरू अगाडि आउन थालेका हुन्।

हाल समाजको उपाध्यक्ष रहनुभएका खतिवडा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। समाजको तेस्रो महाधिवेशनबाट अमेरिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन हुनुभएका उहाँले अब नेतृत्वमार्फत विश्वभर रहेका धादिङवासीको ज्ञान, सीप, स्रोत र अनुभवलाई जिल्लाको विकाससँग जोड्ने लक्ष्य अघि सार्नुभएको छ।

धादिङको गल्छी गाउँपालिका–२ का स्थायी बासिन्दा खतिवडा विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ। अमेरिकाको मेरिल्याण्डमा रहनुभएका उहाँले सामाजिक सेवासँगै व्यावसायिक क्षेत्रमा समेत लामो अनुभव हासिल गर्नुभएको छ। व्यवस्थापनमा स्नातकोत्तर तह (एमबीए) अध्ययन गर्नुभएका खतिवडाले नेपाल र अमेरिकामा प्राप्त सामाजिक तथा व्यावसायिक अनुभवलाई धादिङको हितमा उपयोग गर्ने बताउनुभएको छ।

नेपालमा करिब पाँच वर्ष सामाजिक सेवामा सक्रिय रहनुभएका खतिवडा Action Nepal मार्फत विभिन्न समुदायसँग प्रत्यक्ष रूपमा जोडिनुभएको थियो। त्यस क्रममा आर्थिक तथा सामाजिक रूपमा आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ।

अध्यक्ष पदमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य समाजको भूमिकालाई सामाजिक सेवामा मात्र सीमित नराखी धादिङको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, युवा तथा उद्यमशीलतासँग जोडेर थप प्रभावकारी बनाउनु रहेको खतिवडाले बताउनुभएको छ।

विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीको ज्ञान, सीप, अनुभव, आर्थिक क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई जिल्लाको विकासमा उपयोग गर्ने वातावरण निर्माणलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। त्यसका लागि विद्यार्थीका लागि छात्रवृत्ति तथा मेन्टोरसिप कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीको नेटवर्क निर्माण गर्ने, धादिङका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने तथा युवालाई सीप र उद्यमशीलतासँग जोड्ने योजना उहाँले अघि सार्नुभएको छ।

स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने पहललाई समेत आफ्नो प्राथमिकतामा राख्दै खतिवडाले विदेशमा रहेका धादिङवासीको आर्थिक तथा व्यावसायिक क्षमतालाई जिल्लाका उत्पादन र सम्भावनासँग जोड्ने बताउनुभएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय धादिङ समाजलाई विश्वभर छरिएर रहेका धादिङवासीबीच सहकार्य, समन्वय र एकताको बलियो मञ्चका रूपमा विकास गर्ने उहाँको योजना छ। संस्थाको कामकारबाहीमा पारदर्शिता, जवाफदेहिता र संस्थागत प्रणालीलाई प्राथमिकता दिने उहाँले बताउनुभएको छ।

“पदका लागि होइन, सेवाका लागि नेतृत्व” भन्ने मूल भावनाका साथ अध्यक्ष पदमा अघि बढ्न लागेको बताउने खतिवडाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा नभई धादिङ र धादिङवासीप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्नुभएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै सामाजिक सेवा, विपद्का समयमा सहयोग तथा जिल्लाको विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। चौथो अधिवेशनबाट समाजले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar