धादिङ ।
अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) ले पत्रकारितामार्फत समाजलाई सुसूचित गर्न तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै धादिङका छ जना पत्रकारलाई सम्मान गरेको छ।
शनिबार धादिङबेसीमा सम्पन्न समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल समाचारपत्रका पत्रकार तथा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष, कन्दरा समाचारडटकमका सम्पादक सीताराम अधिकारीसहित छ जना पत्रकार सम्मानित भएका हुन्।
सम्मानित हुनेमा नेपाल समाचारपत्रका सीताराम अधिकारी, अनलाइनखबरका सुदर्शन खतिवडा, कान्तिपुर टेलिभिजनका पोषनाथ अधिकारी, बाह्रखरी डटकमकी सरिता श्रेष्ठ, जापानमा रहेर पत्रकारिता गर्दै आएका राजन गौतम र नीलकण्ठ एफएमका रामकुमार थापा रहेका छन्।
महाधिवेशनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, सांसद बोध नारायण श्रेष्ठ, गंगादेवी श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक दाहालले पत्रकारहरूलाई सम्मान गरेका थिए।
सम्मान कार्यक्रममा वक्ताहरूले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै पत्रकारहरूलाई निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारितामार्फत जनताका पक्षमा कलम चलाउन आग्रह गरेका थिए। सत्यतथ्य समाचार सम्प्रेषण गर्दै नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उनीहरूको भनाइ थियो।
अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सम्मान गरेर पत्रकारिताको सम्मान र प्रोत्साहन गर्ने प्रयास गरेको छ। यस्ता कार्यक्रमले पत्रकारहरूलाई थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।