अनुसन्धान सुधार गर्दै उच्चशिक्षा रुपान्तरणकाे आवस्यकता : नीलकण्ठ क्याम्पस पहिलाे अन्तर्राष्ट्रिय सम्मेलन

अनुसन्धान सुधार गर्दै उच्चशिक्षा रुपान्तरणकाे आवस्यकता : नीलकण्ठ क्याम्पस पहिलाे अन्तर्राष्ट्रिय सम्मेलन

  • Kandara Samachar

  • शनिबार, बैशाख १९, २०८३

  • 36
    SHARES
अनुसन्धान सुधार गर्दै उच्चशिक्षा रुपान्तरणकाे आवस्यकता : नीलकण्ठ क्याम्पस पहिलाे अन्तर्राष्ट्रिय सम्मेलन
oplus_2

धादिङ ।

नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार देखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको छ। उद्घाटनसँगै शोधपत्र तथा अनुसन्धानमूलक प्रस्तुतीकरणहरू सुरु भएका छन्।

समुदाय सशक्तीकरणका लागि शैक्षिक रूपान्तरण, नवप्रवर्तनशील शिक्षण, अनुसन्धान तथा उद्यमशीलता” मुख्य विषय रहेको सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा. डा. बेदराज आचार्यले उच्च शिक्षालाई समयानुकूल पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले पाठ्यक्रम, शिक्षण विधि, मूल्यांकन प्रणाली र अनुसन्धानमा आधारित क्रियाकलापलाई पूर्ण रूपमा परिवर्तन गर्न आवश्यक रहेको बताउँदै विश्वविद्यालय र क्याम्पसहरूलाई समुदाय सशक्तीकरणसँग जोडिनुपर्ने धारणा राख्नुभयो।

प्रा. डा. आचार्यले उच्च शिक्षाले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई रोजगारीमूलक सीप दिनुपर्ने उल्लेख गर्नुभयो। स्थानीय ज्ञान, नेपाली संस्कृति, परम्परा र मूल्यलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले समुदायकेन्द्रित तथा कार्यमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने, विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई पाठ्यक्रम तथा नीतिमा समेट्नुपर्ने र शैक्षिक संस्था, समुदाय, बजार तथा विश्वविद्यालयबीच सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो।

२१औँ शताब्दीको शिक्षामा प्रविधिको उचित प्रयोग, स्थानीय तथा अन्तर्राष्ट्रिय मूल्यको सन्तुलन र हाइब्रिड एप्रोच आवश्यक रहेको उल्लेख गर्दै उहाँले दिगो, समावेशी, जवाफदेही र प्रगतिशील शिक्षा प्रणाली निर्माणमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो।

उहाँले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरू निरन्तर आयोजना हुनुपर्ने बताउँदै यसबाट नयाँ ज्ञान निर्माण, नवप्रवर्तन र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा नेपाल सरकारका पूर्व कृषिमन्त्री रामनाथ अधिकारी, भारतका वरिष्ठ प्राध्यापक डा. एस. के. बराललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। नीलकण्ठ क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले सम्मेलन नेपालको उच्च शिक्षालाई रूपान्तरण गर्ने महत्वपूर्ण प्रयास भएको बताउनुभयो। सम्मेलन व्यवस्थापन समिति संयोजक युवराज सुवेदीले सम्मेलन केवल शैक्षिक कार्यक्रम नभई ज्ञान, सीप र अनुसन्धानलाई जोड्ने साझा मञ्च भएको धारणा राख्नुभयो।

सम्मेलनमा जापान, अमेरिका, भारत, ग्रीस, अस्ट्रेलियालगायत सात देशका प्राेफेसरहरु सहभागी छन्। नेपालका सहित कुल ३१ वटा शोधपत्र तथा अनुसन्धानपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ।

मुख्य वक्ताका रूपमा प्रा. डा. बेदराज आचार्यले शैक्षिक रूपान्तरण र समुदाय सशक्तीकरण विषयमा प्रस्तुति दिनुभएको छ भने मेदिन लमिछानेले विद्यालय–परिवार–समुदाय साझेदारी विषयमा धारणा राख्नुभएको छ।

यसैगरी प्रा. डा. बालचन्द्र लुइटेलले रूपान्तरणकारी विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षा तथा भारतका प्रा. डा. एस. के. बरालले डिजिटल प्रविधि र नवीन शिक्षण पद्धतिबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।

विशेष सत्रअन्तर्गत प्रा. पेशल खनालले उच्च शिक्षामा सीप र उद्यमशीलता, डा. हेलेन आइकल्याण्डले शिक्षकको जीवन अनुभव, डा. हसन नेजादघनबारले अनुसन्धान लेखन र कृत्रिम बुद्धिमत्ता, डा. प्रेमप्रसाद पौडेलले शिक्षक शिक्षा तथा डा. गैरीफालिया चारिटाकीले समावेशी शिक्षा विषयमा धारणा राख्ने कार्यक्रम छ।

सम्मेलनअन्तर्गत शिक्षण पद्धति, उद्यमशीलता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको छ। आयोजकका अनुसार सम्मेलनले उच्च शिक्षा सुधार, अनुसन्धान विस्तार तथा व्यवहारिक शिक्षा प्रणाली निर्माणका लागि महत्त्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar