नेशनल चेस च्याम्पियनसिप शुरु, पहिलो दिन ११ खेलाडीलाई सफलता

नेशनल चेस च्याम्पियनसिप शुरु, पहिलो दिन ११ खेलाडीलाई सफलता

  • Kandara Samachar

  • शनिबार, जेष्ठ १९, २०८१

  • 99
    SHARES
नेशनल चेस च्याम्पियनसिप शुरु, पहिलो दिन ११ खेलाडीलाई सफलता

काठमाडौं ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप आज (शनिबार) बाट शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुल्लातर्फको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदी जित निकाल्दै समान १-१ अंक अंक जोड्न सफल भएका छन्।

क्षितिजले निकैनै प्रतिस्पर्धामक बनेको खेलमा पुर्व नेपाल च्याम्पियन काठमाडौंका केशव श्रेष्ठलाई पराजित गर्दा पुरुषोत्तमले दोलखाका राजिव कार्की, मिलनले काठमाडौंका प्रेम महर्जन, शुसिलले झापाका प्रकाश नेपाल र राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पार्दै अंक जोडे । त्यस्तै वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल उत्कृष्ट लयमा रहेका श्रुसुरत दाहालसँग बराबरीमा रोकिदै अंक बाँड्न बाध्य भए।

राउन्ड रोविन प्रणालीमार्फत शुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ पुर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङकी शान्ति धिमाल, कास्कीकी पूजा भण्डारी, काठमाडौंकी विनिता कपाली, रिया श्रेष्ठ र पर्साकी सुशिला गुरुङ जित निकाल्न सफल भएकी छिन् ।

सिन्दिराले भक्तपुरकी श्रेया दुवाललाई पराजित गर्दा शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट हुँदै नेशनल चेस च्याम्पियनसिप खेलिरहेकी झापाकी कृतिसारा अधिकारीलाई हराइन् भने विनिताले अन्शु प्रजापतिमाथि जित हात पारिन् । त्यसैगरी रियाले झापाकी पूनम प्रसाईं र सुशिलाले भक्तपुरकी सविना गुजलाई पराजित गरिन्।

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र वरिष्ठ संगितकार शंम्भुराज बाँसकोटाले संयुक्तरूपमा चेसको गोटी चालेर प्रतियोगिताको शुरुवात गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङले बुद्धिचाल खेल व्यवसायिक रुपमा अघि बढेको र यो नेपालको लोकप्रिय खेल रहेको बताएका थिए । यस्तै नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेलको विकास विद्यालयस्तरबाटै हुने भन्दै यो खेललाई राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्नुपर्ने विषयमा जोड दिएका थिए। उद्घाटन समारोहमा प्रतियोगिताका संयोजक तथा नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले स्वागत मन्तव्य राखेका थिए।

काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा जेठ २४ गते अर्थात् ६ दिनसम्म चल्ने प्रतियोगितामा नेशनल बी बाट छनौट भएका खुल्ला र महिलातर्फ ९-९ जना, २३ औं नेशनल च्याम्पियनसिपका विजेता र उपविजेता महिला तथा पुरुषतर्फका समान ३-३ गरि २४ जना खेलाडी सहभागि छन् ।

यस च्याम्पियनसिपबाट खुल्लातर्फ शीर्ष तीन जना र महिलातर्फ उत्कृष्ट चार गरि ७ जना खेलाडी हंगेरीको बुडापेस्टमा आगामी सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औं चेस ओलम्पियाडका लागि छनौट हुनेछन् ।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागि भक्तपुरस्थित हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रालि, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रालि, काठमाडौं, प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar