जेन्जी आन्दाेलनमा कारागारबाट भागेका अभियुक्त पुन: चाेरी आराेपमा पक्राउ

जेन्जी आन्दाेलनमा कारागारबाट भागेका अभियुक्त पुन: चाेरी आराेपमा पक्राउ

  • Kandara Samachar

  • शनिबार, असार ६, २०८३

  • 37
    SHARES
जेन्जी आन्दाेलनमा कारागारबाट भागेका अभियुक्त पुन: चाेरी आराेपमा पक्राउ

धादिङ

  1. – मकवानपुरमा चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक व्यक्ति यसअघि डाँका चोरी मुद्दामा सजाय भोगिरहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको खुलेपछि अपराधको पुनरावृत्ति र कानुनी दण्डको प्रभावकारितामाथि फेरि प्रश्न उठेको छ।

मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठस्थित बुद्धराम मोक्तानको घरबाट असार ४ गते नगद ६ लाख रुपैयाँ चोरी भएको घटनापछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। घटनापछि फरार अभियुक्तहरूको खोजी गर्दै गएको इलाका प्रहरी कार्यालय गजुरीको टोलीले असार ५ गते गजुरी गाउँपालिका–६ आदमघाट बजार क्षेत्रमा तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालका अनुसार किरान्चोकबाट आदमघाटतर्फ आउँदै गरेका दुई मोटरसाइकलमा सवार तीन जनालाई शंकाको आधारमा नियन्त्रणमा लिई अनुसन्धान गर्दा चोरी घटनासँग सम्बन्ध देखिएको थियो।

पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ३३ वर्षीय रुद्र मोक्तान, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ जरुङका २१ वर्षीय अशोक तामाङ र १९ वर्षीय उमेश तामाङ रहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका रुद्र मोक्तान भने यसअघि डाँका चोरी मुद्दामा सजाय भोगिरहेका बेला जेनजी आन्दोलनका क्रममा मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको खुलेको छ। फरार अवस्थामै उनी पुनः चोरी घटनामा संलग्न भएको आरोप लाग्नुले अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी नियन्त्रण र निगरानी प्रणाली थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रहरी अभिलेखअनुसार मोक्तानविरुद्ध यसअघि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र चोरी–डाँका सम्बन्धी विभिन्न मुद्दा समेत दर्ता रहेका छन्। २०७६ सालमा एक व्यक्तिलाई गोली हानी फरार रहेको आरोपमा उनी पक्राउ परेका थिए भने उनको गोठबाट तीन थान भरुवा बन्दुक समेत बरामद भएको थियो।

प्रहरीले पक्राउ परेका मोक्तानको साथबाट चोरी भएको रकममध्ये ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ नगद बरामद गरेको जनाएको छ। साथै ग.८ प ९३२१ र ना.१७ प ४१७५ नम्बरका दुई वटा मोटरसाइकल तथा तीन वटा मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

अपराधविज्ञहरूका अनुसार जेल सजाय, कानुनी कारबाही र सामाजिक सुधार प्रक्रियाले अपराधमा संलग्न व्यक्तिलाई पुनः समाजमा जिम्मेवार नागरिकका रूपमा फर्काउने उद्देश्य राख्छ। तर सजाय भोगिसकेपछि वा फरार अवस्थामै पुनः अपराधमा संलग्न हुने प्रवृत्तिले समाज, सुरक्षा संयन्त्र र कानुनी व्यवस्थामाथि चुनौती थप्ने गरेको छ। त्यसैले अपराधबाट क्षणिक लाभ खोज्नेभन्दा कानुनको दायराभित्र रहेर जीवन निर्माण गर्नु नै दीर्घकालीन सुरक्षित बाटो भएको सरोकारवालाहरू बताउँछन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar