– विषम श्रेष्ठ /धादिङ
पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेको छिटो, सहज र प्रभावकारी उपचारका लागि धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी आधारभूत अस्पताललाई बागमती प्रदेशकै नमुना प्रादेशिक ट्रमा सेन्टर का रूपमा स्तरोन्नति गर्ने विषयमा छलफल सुरु भएको छ।
गल्छी गाउँपालिकामा आयोजित उच्चस्तरीय छलफलमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सांसद मधुकुमार श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
छलफलमा बैरेनी अस्पतालको वर्तमान अवस्था, यसको भौगोलिक महत्व, आवश्यक पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक तथा जनशक्ति व्यवस्थापनका विषयमा गम्भीर संवाद भएको थियो।
पृथ्वी राजमार्गको मध्य भागमा पर्ने बैरेनी क्षेत्रमा ट्रमा सेन्टर स्थापना भए दुर्घटनामा परेका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन सहज हुने सहभागीहरूले बताएका छन्।
अस्पताल प्रमुख डा. मधुकर दाहालका अनुसार अहिले गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं वा चितवन लैजानुपर्ने बाध्यता रहेको छ। यसले दुर्घटनापछिको महत्वपूर्ण पहिलो घण्टा अर्थात् ‘गोल्डेन आवर’ मा उपचार नपाउँदा ज्यान गुमाउने जोखिम बढेको छ। बैरेनीमा ट्रमा सेन्टर सञ्चालनमा आए धादिङसहित नुवाकोट, चितवनका केही भेग र आसपासका नागरिकले नजिकैबाट स्तरीय आकस्मिक सेवा पाउनेछन्।
कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकार नागरिकलाई छिटो र गुणस्तरीय आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बैरेनी अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न आवश्यक आधुनिक उपकरण, पूर्वाधार र विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि प्रदेश सरकारले ठोस पहल गर्ने बताउनुभयो।
पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले यो परियोजना गल्छी क्षेत्रको मात्र नभई समग्र बागमती प्रदेशकै महत्वपूर्ण स्वास्थ्य उपलब्धि हुने उल्लेख गर्दै प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
गल्छी गाउँपालिकाका अध्यक्ष खतिवडाले अस्पताल स्तरोन्नतिका लागि स्थानीय तहबाट जग्गा व्यवस्थापनदेखि प्रशासनिक समन्वयसम्म पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैरेनी अस्पताल ट्रमा सेन्टरमा रूपान्तरण भए राजमार्ग दुर्घटनाका घाइतेको उपचारमा मात्र होइन, स्थानीय नागरिकका जटिल स्वास्थ्य समस्यामा समेत ‘लाइफलाइन’ सावित हुने अपेक्षा गरिएको छ।