धादिङ ।
बुढीगण्डकी नदीमा आएको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको धादिङको आरुघाटस्थित सडक सम्पर्क पुनः जोडिएको छ । नेपाली सेनाले बाढीले पुल बगाएको नौ दिनपछि बेलिब्रिज निर्माण गरेसँगै कार्तिक २ गतेदेखि यातायात सञ्चालनमा आएको हो ।
नेपाली सेनाले २७.४२ मिटर लम्बाइ र ४.२ मिटर चौडाइको बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो । पुल निर्माणका लागि सेनाले दिनरात खटिएर काम गरेको उहाँले बताउनुभयो ।
बेलिब्रिज सञ्चालनमा आएसँगै उत्तरी धादिङ र गोरखाको मानवु लगायतका क्षेत्रका बासिन्दालाई आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । पुल बगाएपछि खाद्यान्न, इन्धनलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित हुँदै आएको थियो । आरुघाट क्षेत्रमा सडक सम्पर्क अवरुद्ध हुँदा स्थानीय बासिन्दाले भोग्दै आएको सास्ती कम गर्न बेलिब्रिजले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
हाल बेलिब्रिजबाट साना सवारीसाधन सञ्चालन भइरहेका छन् । ठूला सवारीसाधन सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल सबै प्रकारका सवारीसाधनलाई आवागमनको अनुमति दिइएको छैन । पुल निर्माणका क्रममा गरिएको ढलान सेट भएपछि मात्रै ठूला सवारीसाधन सञ्चालन गर्न सकिने सेनानी चौलागाईंले जानकारी दिनुभयो ।
बेलिब्रिजको भारवहन क्षमता ४० टन रहेको छ । पुलको सुरक्षालाई ध्यानमा राख्दै एकपटकमा एउटा मात्र सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । तत्कालका लागि अति भारी सवारीसाधनको आवागमनमा समेत रोक लगाइएको छ ।
दशैँको मुखमा आएको बाढीले आरुघाट र विशाल नगर क्षेत्रका ७२ घर बगाएको थियो । बाढीले स्थानीय बस्तीमा ठूलो क्षति पुर्याउनुका साथै नेपाली हाते कागज उद्योगमा समेत असर गरेको थियो । बाढीबाट विस्थापित भएका परिवारहरू हाल चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।
बाढीले घर तथा अन्य संरचनामा क्षति पुर्याउनुका साथै स्थानीयको जनजीवनसमेत प्रभावित बनाएको थियो । सडक सम्पर्क अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको आपूर्ति र आवागमनमा थप कठिनाइ उत्पन्न भएको थियो ।
बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएपछि प्रभावित क्षेत्रको यातायात सेवा पुनः सञ्चालनमा आएको छ । यसले उत्तरी धादिङ र गोरखाका विभिन्न क्षेत्रबीचको सडक सम्पर्क सहज बनाउन तथा स्थानीयको दैनिक जनजीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, बाढीबाट विस्थापित परिवारको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भने अझै चुनौतीका रूपमा रहेका छन् ।