७३ वर्षदेखि जुत्तामा सीप भर्नेलाई जेष्ठ नागरिक सम्मान : आँखामा अझै कामको जोस

७३ वर्षदेखि जुत्तामा सीप भर्नेलाई जेष्ठ नागरिक सम्मान : आँखामा अझै कामको जोस

  • Kandara Samachar

  • बिहिबार, अशोज १५, २०८३

  • 22
    SHARES
७३ वर्षदेखि जुत्तामा सीप भर्नेलाई जेष्ठ नागरिक सम्मान : आँखामा अझै कामको जोस

✍️ सीताराम अधिकारी/धादिङ ।

धादिङबेँसीस्थित राष्ट्रिय वाणिज्य बैंकको काखमा सिमेन्टको चिसो भुइँमाथि केही गोलो धागो, छालाका टुक्रा, छाला काट्ने धारिलो हतियार, २०–३० जोर जुत्ताका तलुवा र अलिकति गम देखिन्छ। त्यहीँ बसेर हातमा सियो चलाइरहेका हुन्छन् ८८ वर्षीय सुकदेव नेपाली।

उमेरले बुढ्यौली छोइसके पनि कामप्रतिको उनको उत्साह र आफ्नै पौरखमा बाँच्ने अठोट भने अझै उस्तै छ।

नीलकण्ठ नगरपालिका–१२ साङ्कोष घर भएका सुकदेव अहिले धादिङबेँसीको परेचौतारामा बस्दै आउनुभएको छ। १५ वर्षको उमेरदेखि छालाका जुत्ता सिलाउन सुरु गर्नुभएका उहाँले आफ्नो जीवनका ७३ वर्ष यही पेसामा बिताउनुभएको छ। गाईगोरुको छालाबाट जुत्ता बनाउने, धागोले सिलाउने र त्यसैबाट परिवारको गुजारा चलाउने उहाँको पुरानो दिन अझै सम्झनामा ताजै छ। अहिले पनि साहु र अफिस जानेका जुत्ता टल्काएर दैनिकि चलाउन अभ्यस्त हुनुहुन्छ ।

त्यतिबेला गाउँमा बालिघरे प्रथा थियो। एक जुत्ता सिलाएबापत चार पाथी कोदो वा धान पाउने गरेको उहाँ सम्झनुहुन्छ। एउटा जोर जुत्ताको मूल्य चार रुपैयाँसम्म हुने समय पनि उहाँले देख्नुभएको छ। थोरै आम्दानी भए पनि आफ्नो हातमा भएको सीप र श्रमकै भरमा उहाँले परिवार हुर्काउनुभयो, छोराछोरी पढाउनुभयो र नातिनातिनासम्मको जिम्मेवारी पूरा गर्नुभयो।

समयसँगै जुत्ता बनाउने तरिका र बजार फेरियो। सुकदेवले पछि छाला कारखानामा बनेका जुत्ता आएपछि पनि जुत्ता टल्काउन र सिउन छाड्नु भएन । आफूले सिएका जुत्ता अरूले लगाएर हिँड्दा उहाँलाई खुसी लाग्थ्यो। तर जुत्ता बनाउने उहाँकै हातले समाजमा जातीय विभेदको पीडा पनि सहनुपर्‍यो। आफूले बनाएको जुत्ता लगाउने व्यक्तिले छोइहाले ‘चोखिन’ सुनपानी छर्किने र उपल्लो जातका मानिसको पिँढीमा समेत बस्न नदिने अवस्था आफूले भोगेको उहाँ सम्झनुहुन्छ।

७३ वर्षसम्म जुत्ता सिएर परिवार पाल्नुभएका सुकदेव ठूलो धनसम्पत्ति जोड्न भने सक्नुभएन। बुढेसकालमा आराम गरेर बस्ने अवस्था पनि आएन। छोराछोरी र नातिनातिना हुर्किए, कतिपय विदेश गए, परिवारका नयाँ पुस्ता आफ्नै जीवनमा व्यस्त भए। तर सुकदेवको हातमा रहेको सियो भने अझै रोकिएको छैन।

“काम गर्न सकेसम्म अरूको भर पर्नु हुँदैन,” सुकदेव भन्नुहुन्छ, “काम गर्न पाएँ भने मलाई बुढो भएजस्तो लाग्दैन।” आफ्नै कमाइमा भर पर्ने र कामलाई सम्मान गर्ने उहाँको बानी आज पनि उस्तै छ। उमेरले ८८ वर्ष पुगे पनि जुत्ता सिलाउने कामप्रतिको मोह भने घटेको छैन।

जीवनभर श्रम गरे पनि सामाजिक रूपमा आफूले पाउनुपर्ने सम्मान ढिलो पाएको अनुभव सुकदेवसँग छ। तर यसपटक उहाँका लागि खुसीको अवसर आयो। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नीलकण्ठ नगर ज्येष्ठ नागरिक संघले उहाँसहित ८० वर्ष उमेर पार गर्नुभएका धनकुमारी श्रेष्ठ र रामचन्द्र अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ।

विगतमा जातीय विभेद र सामाजिक हेपाइ सहनुपरेका सुकदेवले सार्वजनिक रूपमा सम्मान पाउँदा खुसी व्यक्त गर्नुभयो। जीवनभर अरूका खुट्टामा जुत्ता लगाइदिने उहाँकै हातमा सम्मानको दोसल्ला पर्दा उहाँका लागि त्यो क्षण लामो श्रमको कदरजस्तो बनेको थियो।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले सामाजिक रूपमा हेपिएका र पछाडि पारिएका व्यक्तिको सम्मान गर्नु सामाजिक तथा सांस्कृतिक विकाससँग जोडिएको बताउनुभयो। यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकको योगदानको सम्मान गर्नुका साथै जातीय विभेदविरुद्ध पनि सकारात्मक सन्देश दिने उहाँको भनाइ छ।

७३ वर्षदेखि सियो र धागोसँगै जीवन बिताइरहेका सुकदेवका लागि भने यसपटकको दिवस केवल औपचारिक कार्यक्रम रहेन, जीवनभरको श्रम र सीपको सम्मान पाएको दिन बन्यो। उमेरले ८८ वर्ष पुगे पनि उहाँ आज पनि उही सियो, धागो र छालासँगै आफ्नो कर्ममा रमाइरहनुभएको छ।

कथित छाेइछिटाे गर्ने समाजले अब सीप र जाँगरका लागि सम्मान गर्न थालेपछि बुढ्याैलीमा पनि जाँगर नमरेकाे उज्यालो अनुहारमा काम गर्ने अठाेट व्यक्त गर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar