बाढी प्रभावित क्षेत्रमा महिला र किशोरी मैत्री स्थानको स्थापना

बाढी प्रभावित क्षेत्रमा महिला र किशोरी मैत्री स्थानको स्थापना

  • Kandara Samachar

  • बुधबार, अशोज १४, २०८३

  • 36
    SHARES
बाढी प्रभावित क्षेत्रमा महिला र किशोरी मैत्री स्थानको स्थापना

धादिङ ।

त्रिशूली बाढीबाट प्रभावित धादिङका नागरिकको खानेपानी, सरसफाइ, स्वास्थ्य तथा संरक्षणसम्बन्धी समस्या समाधान गर्न एकीकृत सहयोग कार्यक्रम सुरु गरिएको छ। इज्रा एडको र सहयात्री समाज नेपालको साझेदारीमा गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा ‘भोटेकोसी बाढी आपतकालीन प्रतिक्रिया धादिङ नेपाल’ अन्तर्गत एकीकृत खानेपानी, सरसफाइ, संरक्षण तथा जनस्वास्थ्य सहयोग कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत गजुरी गाउँपालिका–५ गलौदी र वडा नं। ६ रातमाटेमा रहेका होल्डिङ सेन्टरमा महिला तथा किशोरीमैत्री स्थान सञ्चालनमा ल्याइएको छ। विपद्का समयमा अस्थायी आवासमा सामूहिक रूपमा बस्दा महिला, किशोरी तथा बालिकामाथि यौनजन्य हिंसा, बेचबिखन, घरेलु हिंसा तथा साइबर अपराधलगायतका जोखिम बढ्न सक्ने भएकाले त्यस्ता जोखिम न्यूनीकरणमा महिला तथा किशोरीमैत्री स्थानले सहयोग गर्ने जनाइएको छ।

महिला, किशोरी तथा बालिकालाई विपद्को समयमा हुन सक्ने हिंसा तथा जोखिमबारे सचेत गराउने, घटना भएमा कहाँ जाने, कसलाई जानकारी गराउने र आवश्यक सहयोग तथा सेवासम्म कसरी पुग्ने भन्ने विषयमा सचेतना अभिवृद्धि गरिनेछ। हिंसामा परेका प्रभावितलाई आवश्यक सेवा तथा सहयोगमा जोड्ने कामसमेत महिला तथा किशोरीमैत्री स्थानबाट गरिने संस्थाले जनाएको छ।

कार्यक्रममा स्वास्थ्य तथा सरसफाइ, प्रजनन स्वास्थ्य, महिनावारी स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कक्षासमेत सञ्चालन गरिनेछ। होल्डिङ सेन्टरसँगै गजुरी–२ को बिहानी पम्प र फुर्केखोला तथा बेनिघाट रोराङ गाउँपालिकाको बुद्धिविकास आ।वि। क्षेत्रमा समेत यस्ता सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

होल्डिङ सेन्टरमा महिला तथा किशोरीका लागि सुरक्षित स्नानगृह, महिलामैत्री शौचालय तथा खानेपानीको सहज व्यवस्थापनमा समेत सहयोग गरिने भएको छ। बाढीका कारण क्षति भएका तथा प्रयोगमा कठिनाइ भएका आधारभूत संरचनाका कारण प्रभावित परिवारले भोगिरहेको दैनिक समस्या न्यूनीकरण गर्न कार्यक्रम केन्द्रित हुने जनाइएको छ।

त्यसैगरी गजुरी र बेनिघाट रोराङका विभिन्न प्रभावित क्षेत्रमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। दुईवटा होल्डिङ सेन्टर, फुर्केखोला, बिहानी पम्प र बुद्धिविकास आ।वि। क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ। शिविरमार्फत बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श र सेवामा पहुँच बढाइनेछ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। घर, सडक, खानेपानी, शौचालयलगायतका संरचनामा क्षति पुगेपछि विस्थापित परिवारको दैनिक जीवन थप कठिन बनेको छ। विशेषगरी सुरक्षित खानेपानी र सरसफाइको अभावले बाढी प्रभावित बस्तीमा स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने अवस्था रहेको छ।

संस्थाले तत्कालका लागि प्रोटेक्सन, खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० र सामुदायिक स्वास्थ्यका क्षेत्रमा समुदायको आवश्यकता पहिचान गरी सहयोग गर्दै जाने जनाएको छ। पहिलो चरणमा आपतकालीन प्रतिक्रियाअन्तर्गत साढे तीन महिनासम्म कार्यक्रम सञ्चालन गरिनेछ।

तर प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा आपतकालीन प्रतिक्रियापछि पुनःस्थापनाका कार्यक्रमसमेत सञ्चालन गर्न सकिने संस्थाको योजना छ। बाढीबाट भत्किएका आधारभूत संरचना पुनःस्थापना, प्रभावित परिवारको स्वास्थ्य तथा सरसफाइमा पहुँच र महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम अघि बढाइने जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar