धादिङमा ह्वाट्सएप र इसेवा/खल्तीबाट बढ्दाे साइबर अपराध

धादिङमा ह्वाट्सएप र इसेवा/खल्तीबाट बढ्दाे साइबर अपराध

  • Kandara Samachar

  • बुधबार, साउन ६, २०८३

  • 122
    SHARES
धादिङमा ह्वाट्सएप र इसेवा/खल्तीबाट बढ्दाे साइबर अपराध

धादिङ ।

धादिङ जिल्लामा साइबर अपराधका घटनाहरु दिनानुदिन बढीरहेका छन् । अपराध बढेका कारण साइबर अपराधबाट न्याय पाउन जिल्ला प्रहरी कार्यालयमा उजुरीसंख्या पनि बर्सेनि बढ्दै गएकाे छ ।

साइबर अपराधमा मानिसहरु विशेषगरी ह्वाट्सएप र इसेवा/खल्ती जस्ता डिजिटल प्लेटफर्मबाट ठगीका घटनाहरू बढी भएकाे पाइएकाे छ । पीडितहरूले यी माध्यमबाट ठगिएको गुनासो सबैभन्दा धेरै गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १० महिला र १० पुरुषले अनलाइन ठगीको उजुरी दिएका थिए । आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १८ महिला र १९ पुरुष पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने २७ महिला, ८६ पुरुष र २ बालक गरि कुल ११४ जना पीडित भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले बताउनुभयाे ।

‘साइबर अपराध र साइबर सुरक्षा’ का विषयमा जानकारी दिँदै साइबर अपराध क्रमशः बढ्दै गएको प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ह्वाट्सएपबाट ४५ जना, इसेवा/खल्तीबाट ४४ जना, टिकटकबाट १५ जना र फेसबुकबाट १० जनाले ठगिएको उजुरी दिएका छन् । सामाजिक सञ्जालको आधारमा ह्वाट्सएप र इसेवा/खल्तीबाट सबैभन्दा बढी साइबर अपराध भएको देखिएको छ ।

साइबर अपराध प्रमाणित भएमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरी कारबाही अघि बढाइन्छ । ऐनअनुसार कसूरदारलाई ५ वर्षसम्म कैद, १ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । सजायको मात्रा अपराधको गम्भीरता, प्रमाण र अदालतको फैसलामा निर्भर गर्दछ ।

धादिङ प्रहरीले उजुरी प्राप्त भएपछि नेपाल प्रहरी साइबर ब्यूरोसँग समन्वय गरी अनुसन्धान गर्ने गरेको छ । तर, दक्ष जनशक्ति अभाव, भिपिएन/प्रोक्सी प्रयोग, डिजिटल प्रमाण सजिलै मेटिने समस्या र सीमापार अपराधका कारण अनुसन्धान जटिल बनेको छ । मेटा, इन्साग्राम जस्ता विदेशी प्लेटफर्मसँग समन्वय गर्नुपर्ने अवस्थाले पनि मुद्दा छिटो टुङ्ग्याउन कठिनाइ भएको छ ।

प्रहरीले अनलाइन ठगी, साइबर बुलिङ, डाटा चोरी, ह्याकिङ, बाल यौन सामग्री र गोप्य फोटो/भिडियो दुरुपयोग जस्ता प्रमुख साइबर अपराधका स्वरूपहरूबाट बच्न बलियो पासवर्ड प्रयोग, दुई-चरण प्रमाणीकरण, सफ्टवेयर नियमित अपडेट, शंकास्पद लिङ्क/इमेल नखोल्ने र व्यक्तिगत विवरण नसेयर गर्ने जस्ता उपाय अपनाउन आग्रह गरेको छ ।

धादिङ प्रहरीले जनचेतना अभिवृद्धि, दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय समन्वयबाट मात्र साइबर अपराध नियन्त्रण गर्न सकिने बताएको छ । पीडितहरूलाई समयमै उजुरी दिन र सुरक्षित डिजिटल व्यवहार अपनाउन आह्वान गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar