धादिङ चितवनकाे पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ चितवनकाे पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

  • Kandara Samachar

  • सोमवार, साउन ४, २०८३

  • 59
    SHARES
धादिङ चितवनकाे पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ। 

लगातारको वर्षापछि धादिङको बेनीघाट र चितवनको फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनीघाट क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेको छ। गएरातिको वर्षाले राजमार्गका विभिन्न स्थानमा साना–ठूला पहिरो खसेका थिए। साना पहिरो हटाइसकिए पनि बेनीघाटको पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ।

अत्यधिक वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै धादिङ प्रहरीले आइतबार रातिदेखि नै राजमार्गमा सवारी सञ्चालन रोकेको थियो। पहिरो हटाएर सडक सुरक्षित भएपछि मात्रै यातायात सञ्चालन गरिने जनाइएको छ।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा आज बिहान करिब २ः२० बजे पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। पहिरोले सडक ढाकिएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक खुलाउन बिहानैदेखि डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। मौसमले साथ दिए बिहानसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।

यसैबीच, लेदोसहितको पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध रहेको छ। अन्य प्रमुख राजमार्ग भने सञ्चालनमै रहेको नेपाल प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेकाले प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar