धादिङ
धादिङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभर रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारी अनुसार भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेकाले यस्तो निर्णय गरिएको हो ।
साउन ३ गते आइतबार राति १०:०० बजेदेखि साउन ४ गते सोमबार बिहान ०५:०० बजेसम्मका लागि सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
यद्यपि, अत्यावश्यक सेवा अन्तर्गतका सवारी साधनहरू जस्तैः एम्बुलेन्स, दमकल, र सुरक्षा निकायका सवारी साधनहरूलाई भने सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको आधिकारिक सूचनामा जनाइए अनुसार, सम्भावित विपद्को जोखिमलाई मध्यनजर गरी आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षार्थ यो कदम चालिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) द्वारा हस्ताक्षर गरिएको सो सूचनामा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि देहायका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
धादिङकाे राजमार्गमा १८ स्थानलाई जाेखिम क्षेत्राे रुपमा पहिचान गरि लगातारकाे वर्षा र ठाउँ ठाउँमा पहिराे गएका कारण रात्रीकालिन सवारी संचालनमा प्रतिबन्ध लगाउनु परेकाे प्रमुख जिल्ला अधिकारीकाे भनाइ छ ।
आपतकालीन सम्पर्कका लागि नम्बरहरू:
नेपाल प्रहरी हटलाईन नम्बरः १००
सशस्त्र प्रहरी बल नेपालः १११४
जिल्ला आपतकालिन संचालन केन्द्र (DEOC): ९२३४ वा ०१०-५२१४६४
जिल्ला प्रहरी कार्यालय, धादिङ (सूचना अधिकारी): ९८५१२२१८६०
जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङः ९८५१३२२५६४