धादिङ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको २४औँ जिल्ला परिषद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले सकारात्मक राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार र शिक्षकका पेशागत हकहितका विषयलाई प्राथमिकतामा राख्न शिक्षक संगठनले अझ प्रगतिशील भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा शिक्षक आन्दोलन, पेशागत हकहित, शिक्षा नीति, सूचना प्रवाह, मानवअधिकार तथा लोकतन्त्रका विषयमा समेत चर्चा गरिएको थियो। वक्ताहरूले शिक्षा प्रणालीलाई वैज्ञानिक, सीपमूलक र व्यवहारिक बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव प्रकाश खनालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकको भूमिका थप प्रभावकारी हुनुपर्ने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी बनाउन शिक्षक, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघ धादिङका अध्यक्ष ठानप्रसाद बसौलाले शिक्षक आन्दोलनले विगतदेखि शिक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले शिक्षकका हकहितसँगै शैक्षिक सुधारलाई समान प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
जिल्ला अध्यक्ष हरि सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसइई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको थियो।
यस क्रममा ४ जीपीए प्राप्त गर्ने नीलकण्ठ बालमन्दिर माविका विद्यार्थी विपिसा सुवेदी, नविना श्रेष्ठ, दिप्सन छत्कुली र प्रशंसा गुरुङलाई सम्मान गरिएको थियो। त्यसैगरी आदर्शमाविका विद्यार्थी आइन्स्टाइन पाण्डे र अनिरुद्र सिंह बस्नेतलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
साथै, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दै नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालय लाई सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षा क्षेत्रलाई समयानुकूल, सीपमूलक तथा वैज्ञानिक ढंगले अगाडि बढाउन शिक्षक संगठनको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।