धादिङ ।
बजारमा गुणस्तरहीन वस्तुको बिक्री, कृत्रिम अभाव सिर्जना, अनुचित मूल्यवृद्धि तथा उपभोक्तामाथि हुने विभिन्न प्रकारका ठगीका घटनाले चुनौती थपिरहेको बेला धादिङमा उपभोक्ता अधिकार र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच गम्भीर छलफल भएको छ।
राष्ट्रिय उपभोक्ता मञ्च धादिङ र उपभोक्ता हित संरक्षण मञ्च धादिङको समन्वय तथा सहकार्यमा नीलकण्ठ नगरपालिकाद्वारा मंगलबार धादिङबेँसीस्थित सिटी हलमा उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण ऐन, बजार अनुगमन तथा उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको हो।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाले बजार अनुगमन नियमित रूपमा भइरहे पनि त्यसको प्रभावकारितामा अपेक्षित सुधार देखिन नसकेको बताउनुभयो। उपभोक्ताको हित संरक्षणका लागि सरकार र सम्बन्धित निकायले विभिन्न कदम चाले पनि सेवा प्रदायक निकायहरू समयानुकूल जिम्मेवार बन्न नसकेकोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो।
“अनुगमन हुनु मात्र पर्याप्त हुँदैन, त्यसको परिणाम उपभोक्ताले अनुभूति गर्न सक्नुपर्छ,” नगरप्रमुख ढुंगानाको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागीहरूले बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले पछिल्लो समय उपभोक्ता सुरक्षाको विषय झनै जटिल बन्दै गएको बताउनुभयो। उहाँले उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरकारी निकाय, स्थानीय तह, व्यवसायी र आम उपभोक्ताबीच साझा जिम्मेवारी र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार स्थानीय तह र जिल्लास्थित विभिन्न कार्यालयहरूले स्वच्छ बजार निर्माण तथा उपभोक्तालाई सचेत बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गर्नुभएको थियो। उहाँले उपभोक्ता अधिकारको विषय कुनै एक मन्त्रालय वा विभागको प्रयासले मात्र सफल हुन नसक्ने भन्दै अन्तर मन्त्रालय, अन्तर विभाग तथा विभिन्न संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उपभोक्तामा अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्न सामूहिक अभियान आवश्यक रहेको उहाँको भनाइ थियो।
अन्तरक्रियामा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, धादिङ उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ धादिङ, व्यवसायी तथा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन अनुगमनलाई कागजी प्रक्रियामा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।