जंगलको मौनता, गाेधुली साँझ र नयाँ अनुभव : चितवनमा सुरु हुँदै ‘इभिनिङ जीप सफारी’

जंगलको मौनता, गाेधुली साँझ र नयाँ अनुभव : चितवनमा सुरु हुँदै ‘इभिनिङ जीप सफारी’

  • Kandara Samachar

  • बुधबार, असार १७, २०८३

  • 44
    SHARES
जंगलको मौनता, गाेधुली साँझ र नयाँ अनुभव : चितवनमा सुरु हुँदै ‘इभिनिङ जीप सफारी’

✍️ सीताराम अधिकारी/चितवन 

दिनभर पर्यटकको चहलपहलले व्यस्त रहने सौराहा साँझ पर्न थालेसँगै बिस्तारै शान्त हुँदै थियो। आकाशमा घामका अन्तिम किरणहरू धमिलिँदै थिए। पश्चिमतिर रातो र सुनौलो रङ मिसिएको आकाशले साँझलाई अझ आकर्षक बनाएको थियो। त्यही परिवेशमा हामी भने एउटा फरक अनुभवका लागि तयार हुँदै थियौँ, जंगलको रात नजिकबाट महसुस गर्न।

बेलुकी करिब ६:३० बजेतिर सौराहास्थित पार्क सफारी रिसोर्टबाट हामी दुईवटा जीपमा चढ्यौँ। हाम्रो टोलीमा २० जनाभन्दा बढी पत्रकार, होटल व्यवसायी र बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव दिपेन्द्र सुवेदी सहभागी हुनुहुन्थ्यो। सबैको मनमा एउटा साझा उत्सुकता थियो— रात पर्दै जाँदा जंगलकाे रुप कस्ताे रहला ?

जिपसफारी गर्नु भनेकाे जंगलमा जनावर हेर्नमात्र जाने नभएर प्रकृति, पर्यावरणसंग साक्षातकार गर्दै अनुपम आनन्द लिनु हाे ।

याे वरण्डाभार जैविक मार्गअन्तर्गतको जंगल थियाे ।

सुरुवाती क्षणमै वातावरण परिवर्तन भएको महसुस भयो। शहरको कोलाहल हराइसकेको थियो। त्यहाँ केवल जंगल थियो— रुखहरूको घेराबन्दी, हावासँग हल्लिने पातहरूको सुस्केरा र किराहरूको निरन्तर आवाज। कतै चाैर र कतै उघाराे मैदानले हामीलाई स्वागत गरिरहेका थिए ।

अँध्यारो गाढा हुँदै जाँदा जीपको बत्तीले मात्र बाटो चिर्दै अगाडि बढिरहेको थियो। जीपभित्र बसेकाहरूको नजर भने जंगलका दुवैतर्फ दौडिरहेका थिए। कतै कुनै वन्यजन्तु देखिन्छ कि भन्ने उत्सुकता सबैमा थियो।

बीचबीचमा जीप रोकिन्थ्यो। कसैले टाढा केही हलचल भएको देख्थ्यो, कसैले आवाज सुनेको अनुमान गर्थ्यो। त्यो क्षणमा जंगलको शान्तता नै अझ रोमाञ्चक लागिरहेको थियो।

अलि पर मृग र हरिण देखियाे । उनिहरु एकछिन नाचे । हामीलाई बाटाे छाेडेर रुखहरुकाे छेल परे ।

अलि पर पुगेपछि एक हुल मृग अनि सुन्दर भाले जरायाे । समुहमा थिए । हामीलाई देखेर एकछिन नाचे अनि स्वागत गरेपछि पाखा लागे ।

सन्ध्याकालीन गाइड सरोज खनालले यात्राको बीचमै भने, “जनावर हेर्न मात्रै नभएर प्रकृतिको आनन्द लिन बेलुकिपखको यो जंगल सफारीले पर्यटकलाई लोभ्याउने आशा छ।”

उनको भनाइ सुन्दा लाग्थ्यो, यो यात्रा वन्यजन्तु हेर्ने प्रयास मात्र होइन, जंगललाई फरक समय र फरक अनुभूतिमा महसुस गर्ने अवसर पनि रहेछ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव दिपेन्द्र सुवेदीले नाइट सफारीलाई नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्पादनका रूपमा विकास गर्ने सोच रहेको बताए। उनका अनुसार चितवनको पर्यटनलाई राष्ट्रिय निकुञ्जभित्र मात्र सीमित नराखी सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनले संयुक्त रूपमा करिब ३० किलोमिटर लामो जंगल मार्ग तयार गरी परीक्षणका रूपमा नाइट जीप सफारी सुरु गरेका हुन्। संरक्षणको प्रभावले यस क्षेत्रमा गैँडा, चितुवा, बाघ, जरायो, चित्तल, भालु र बँदेलजस्ता वन्यजन्तु देखिने सम्भावना रहेको बताइन्छ।

वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्थालाई जोड्ने उद्देश्य पनि यस अभियानसँग गाँसिएको छ। होटल व्यवसायीहरूले समेत पर्यटकलाई नाइट सफारीमा लैजाने प्रतिबद्धता जनाएपछि सामुदायिक वनका पदाधिकारी उत्साहित देखिएका छन्।

रात अझ गाढा हुँदै थियो, जंगल अझ रहस्यमय बन्दै थियो। तर त्यो यात्राले एउटा कुरा भने स्पष्ट बनाइसकेको थियो— अब चितवन केवल दिनको जंगल सफारीमा सीमित रहने छैन। यहाँको साँझ र रातले पनि पर्यटकलाई नयाँ अनुभव दिन सक्ने संकेत देखाउन थालेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar