धादिङ ।
ज्वालामुखी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लागू गरेका नवीन कार्यक्रम, स्थानीय सरकारको सक्रिय लगानी तथा समुदाय केन्द्रित सेवाका कारण स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। यसको पछिल्लो उदाहरणका रूपमा गाउँपालिकास्थित ढोला स्वास्थ्य चौकी धादिङ जिल्लाभर स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ।

जनस्वास्थ्य कार्यालय धादिङले असार ११ र १२ गते आयोजना गरेको स्थानीय तहहरूको न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी समीक्षा कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार ढोला स्वास्थ्य चौकीले ९६ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाभर पहिलो स्थान हासिल गरेको हो।
त्यसैगरी थाक्रे गाउँपालिकाको महादेवबेशी स्वास्थ्य पोस्ट तथा बेनीघाट–रोराङ गाउँपालिकाको जोगिमारा स्वास्थ्य पोस्टले ९३ प्रतिशत अंकसहित दोस्रो स्थान प्राप्त गरेका छन् भने नीलकण्ठ नगरपालिकाको मुरलीभञ्ज्याङ स्वास्थ्य पोस्टले ९२ प्रतिशत अंकसहित तेस्रो स्थान हासिल गरेको छ।
ढोला स्वास्थ्य चौकीले केवल यस वर्ष मात्रै उत्कृष्टता हासिल गरेको होइन। आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म ज्वालामुखी गाउँपालिकाभित्र लगातार पाँच वर्ष उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ भने आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा लगातार तीन वर्ष धादिङ जिल्लाभर पहिलो स्थान कायम राख्न सफल भएको छ।
स्वास्थ्य क्षेत्रमा यो उपलब्धि कुनै एक संस्थाको मात्र प्रयास नभई स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको साझा सहकार्यको परिणाम भएको बताइएको छ।
ज्वालामुखी गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा विभिन्न नवीन र जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले ‘एक वडा एक स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ भने ‘घरदैलोमा जनस्वास्थ्य सेवा’ कार्यक्रममार्फत नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने अभ्यासलाई प्राथमिकता दिएको छ।
त्यसैगरी ‘नमुना आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गरी सुरक्षित मातृत्वलाई प्रोत्साहन गरिएको छ। गाउँपालिकाले बागमती प्रदेशमै पहिलो पटक शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित गर्दै “घरमा सुत्केरी शून्य पालिका” को पहिचानसमेत बनाउन सफल भएको जनाएको छ।
बालबालिकाको पोषण तथा स्वास्थ्य अवस्थालाई सुधार गर्ने उद्देश्यले “अबको गन्तव्य, पुड्कोपनको अन्त्य” अभियान सञ्चालन गरिएको छ। साथै “कोखदेखि शोकसम्म ज्वालामुखी सरकार” भन्ने अवधारणामार्फत जन्मदेखि वृद्ध अवस्थासम्म नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
गाउँपालिकाले सरसफाइ र स्वास्थ्यलाई जोड्दै देशकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका निर्माण अभियानलाई पनि अगाडि बढाएको जनाएको छ।
स्थानीय तहको नीति, कार्यक्रम, बजेट तथा आवश्यक कार्यविधि निर्माण गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको कारणले यस्तो उपलब्धि सम्भव भएको गाउँपालिकाको स्वास्थ्य शाखाको भनाइ छ। आगामी दिनमा पनि गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको छ।
स्थानीयवासीले पनि पछिल्ला वर्षमा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार भएको बताएका छन्।