धादिङ ।
नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा धादिङले आफ्नो ५३औँ वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङ अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै अस्पताललाई ३ वटा सिलिङ फ्यान सहयोगस्वरूप हस्तान्तरण गरेको छ।
संघले अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै फलफूल वितरण गरेको हो भने अस्पतालको सेवा व्यवस्थापनलाई थप सहज बनाउन सिलिङ फ्यान सहयोग प्रदान गरेको जनाएको छ।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष अशोक खनालले अस्पतालमा उपचाररत बिरामीहरूलाई केही हदसम्म सहयोग पुग्ने उद्देश्यले सिलिङ फ्यान हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले सामाजिक सेवामार्फत समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा अस्पताल प्रशासनले संघको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले बिरामी तथा अस्पताललाई सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेको थियो।