✍️ हिरामाया श्रेष्ठ
राम निकै कुलतमा फसेको थियो। जाँडरक्सी खान र जुवातास खेल्न पाएपछि उसलाई श्रीमती र छोराछोरीको समेत कुनै मतलब हुँदैनथ्यो। चुरोटको सेवन गर्दै जाँदा उसले बिस्तारै लागूपदार्थको प्रयोग पनि गर्न थालेको थियो।
उता रामकी श्रीमती भने श्रीमानले कमाएर ल्याउलान् र छोराछोरीलाई एक छाक मिठो मसिनो बनाएर खुवाउँछु भनेर प्रतीक्षामा बसेकी हुन्थिन्।
यत्तिकैमा रक्सीले मात्तिएर बर्बराउँदै ढोकामा लात्ती हानेको आवाज आयो।
“ए! एक गेडो चामल घरमा छैन, हजुरलाई भने कुकुरको मुत धोकेर हिँड्नमै ठिक छ, हैन?
छोराछोरीलाई भोकै राखेर तपाईंलाई मनमा शान्ति कसरी मिल्छ? हुन त दिनरात भट्टीमा बास हुनेलाई छोराछोरीको के चिन्ता लाग्थ्यो र? यसरी झन् झन् पिउँदै जानुभयो भने एक दिन रक्सी, चुरोट र लागूपदार्थ नै तपाईंको काल बनेर आउनेछन्।”
रामकी श्रीमतीले यति भनेर आफ्ना छोराछोरीलाई मेलापातबाट ल्याएको सुख्खा रोटी पानीमा भिजाएर खुवाइन् र सुताइन्। आफू भने भोकै सुतिन्।
समय बित्दै गयो। एक दिन रामलाई असाध्यै छटपटी भएछ। ऊ “मलाई एक सिरिन्ज भए पनि कसैले ड्रग देऊ” भन्दै चिच्याइरहेको थियो।
आफूले अरूलाई सहयोग गर्न जानेको भए पो अरूले पनि सहयोग गर्न पछि हट्ने थिएनन्। “मरे पनि मरोस्” भनेर कसैले वास्ता गरेनन्।
आखिर लागूपदार्थ दुर्व्यसनकै कारण अल्पायुमै उसको निधन भयो। छोराछोरी टुहुरा भए।
अहिले रामका छोराछोरी विद्यालयविद्यालयमा पुगेर चेतनामूलक सन्देश दिँदै हिँड्छन्, “मेरो बाबुजस्तो आफ्ना सन्तानका लागि नसोच्ने बुबा यो संसारमा कसैलाई पनि नपरोस्। लागूपदार्थ र कुलतले केवल व्यक्ति मात्र होइन, सिंगो परिवारलाई नै बर्बाद बनाउँछ।”
(गजुरी–१, धादिङ : लेखक महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ )