बेनीघाट रोराङको करिव ९२ कराेडकाे बजेट सार्वजनिक: शिक्षा–कृषिमा प्राथमिकता, पूर्वाधार विकासलाई निरन्तरता

बेनीघाट रोराङको करिव ९२ कराेडकाे बजेट सार्वजनिक: शिक्षा–कृषिमा प्राथमिकता, पूर्वाधार विकासलाई निरन्तरता

  • Kandara Samachar

  • बुधबार, असार १०, २०८३

  • 39
    SHARES
बेनीघाट रोराङको करिव ९२ कराेडकाे बजेट सार्वजनिक: शिक्षा–कृषिमा प्राथमिकता, पूर्वाधार विकासलाई निरन्तरता

धादिङ ।

बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले गाउँसभामा बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये चालु खर्चतर्फ ५० करोड ८ लाख ७७ हजार रुपैयाँ तथा पूँजीगत खर्चतर्फ ४१ करोड ९० लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयाे।

यस्तै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आफ्नो कार्यकालको अन्तिम वर्षमा विकासका अधुरा योजनालाई निरन्तरता दिँदै गाउँ पालिकालाई थप व्यवस्थित, समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य लिइएको बताउनुभयाे।

अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि निरन्तर प्रयास गरिएको उल्लेख गर्दै विकास यात्रामा साथ दिने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकप्रति आभार व्यक्त गरे। सबै पक्षको सहकार्यले पालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाइ थियो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विशेषगरी शिक्षा र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। शिक्षा क्षेत्रअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार सुधार, शिक्षण सिकाइ प्रणालीलाई प्रभावकारी बनाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने कार्यक्रम समेटिएका छन्।

स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धि गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ। किसानलाई उत्पादनसँग जोड्ने, कृषि प्रविधिको विस्तार गर्ने तथा स्थानीय कृषि उपजको बजार प्रवर्द्धन गर्ने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।

यससँगै पूर्वाधार विकासतर्फ सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, सिँचाइ तथा भवन निर्माणलगायतका योजनालाई आवश्यकताका आधारमा अगाडि बढाइने नीति लिइएको छ।

स्वास्थ्य, सामाजिक विकास, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाले जनाएको छ।

कार्यकालको अन्तिम वर्षमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समृद्ध र आत्मनिर्भर बेनीघाट रोराङ निर्माणको लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar