धादिङ ।
गल्छी गाउँपालिकाका विभिन्न खानेपानी स्रोतहरूको गुणस्तर परीक्षणमा अधिकांश स्थानमा फिकल कोलिफर्म (E.coli) जीवाणु फेला परेपछि सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।
मानिसले पिउने पानीकाे श्राेतमा काेलिफर्म भेटिनु भनेकाे मानिसलाई झाडापखाला गराउने जिवाणु अर्थात दिसाकाे माता भेटिनु हाे ।
गाउँपालिकाले सार्वजनिक गरेको पानी परीक्षण प्रतिवेदनले धेरै खानेपानी स्रोत मानव उपभोगका लागि जोखिमयुक्त हुन सक्ने संकेत गरेको छ।
गाउँपालिकाले जनस्वास्थ्य कार्यालय धादिङको प्राविधिक सहयोगमा विभिन्न वडाका खानेपानी आयोजना तथा स्रोतबाट नमुना संकलन गरी परीक्षण गराएको थियो।
परीक्षणको नतिजाअनुसार चापेट खोला, थार्ती खोला, चैनलिटर खानेपानी, हिमालय खानेपानी, छहरा खोला, अबुवाखोला, मष्टार टिफ बोरिङ, विभिन्न धारासहित अन्य स्रोतमा फिकल कोलिफर्म (E.coli) जीवाणु भेटिएको उल्लेख गरिएको छ।
१६ अाेटा पानीकाे श्राेतहरुमध्ये ९ श्राेतहरुमा फिकल कोलिफर्म वा E.coli भेटिएकाे सार्वजनिक गरिएकाे पानी परिक्षण प्रतिवेदनमा उल्लेख छ ।
इकाेली सामान्यतया मानिस वा जनावरको मलबाट पानीमा पुग्ने जीवाणु हो। यसको उपस्थिति पानीमा मलजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्ता जीवाणुयुक्त पानीको प्रयोगले झाडापखाला, बान्ता, ज्वरो, टाइफाइड, हैजा लगायत पानीजन्य रोग फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ। विभिन्न अध्ययनले फिकल कोलिफर्म देखिएको पानी स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुने देखाएका छन्।
धादिङमा विगतमा समेत दूषित पानीका कारण पानीजन्य रोगको जोखिम देखिएको घटनाहरू सार्वजनिक भइसकेका छन्। पानीका स्रोतहरूमा रोगजन्य जीवाणु देखिनु स्वास्थ्य सुरक्षाका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।
गाउँपालिकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न स्थानीयलाई आग्रह गरेको छ। साथै पानीका स्रोतको संरक्षण, नियमित परीक्षण तथा शुद्धीकरण प्रक्रियामा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
मनसुनको समयमा पानीका मुहानमा ढल, वर्षाको बहाव तथा वरपरको फोहोर मिसिने सम्भावना बढ्ने भएकाले स्वास्थ्य जोखिम अझ बढ्न सक्ने देखिएको छ। पानी उमालेर वा अन्य शुद्धीकरण विधि अपनाएरमात्र पानी पिउन गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले सार्वजनिक आग्रह गर्नुभयाे ।