धादिङ ।
नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन मासिक मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ पुनः प्रथम भएको छ। प्रहरी उपरीक्षकको नेतृत्वमा रहेका देशभरका १५ पहाडी जिल्लामध्ये जेठ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा धादिङ उत्कृष्ट बनेको हो। यसअघि पनि धादिङ प्रहरीले वैशाख महिनाको मूल्याङ्कनमा प्रथम स्थान हासिल गरेको थियो।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध न्यूनीकरण, पुराना बाँकी मुद्दाको अनुसन्धान, फैसला कार्यान्वयन तथा समग्र सेवा प्रवाहको आधारमा गरेको मूल्याङ्कनमा धादिङ प्रहरी अग्रस्थानमा परेको हो।
यससँगै राजमार्गको संवेदनशीलतालाई मध्यनजर गर्दै सडक तथा सवारी सुरक्षा व्यवस्थापन, प्रभावकारी प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन र विपद् व्यवस्थापनमा देखाएको सक्रिय भूमिकाले पनि धादिङ प्रहरीलाई उत्कृष्ट बनाउन महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले पछिल्लो समय समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ। समाजमा बढ्दै गएका विभिन्न विकृति तथा विसंगतिविरुद्ध जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय सचेतना अभियान, लागूऔषध दुव्र्यसन नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सामाजिक अपराध न्यूनीकरणका क्षेत्रमा समेत प्रहरीले सक्रियता देखाउँदै आएको छ।
विशेषगरी शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने मात्र नभई नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दा प्रहरीप्रतिको जनविश्वास पनि बढ्दै गएको देखिएको छ। पछिल्ला दिनमा फरार प्रतिवादी पक्राउ, चोरी तथा आपराधिक घटनाको अनुसन्धान र समुदायसँग प्रत्यक्ष समन्वयमा आधारित कार्यक्रमले सकारात्मक प्रभाव पारेको स्थानीयले समेत अनुभव गर्न थालेका छन्।
प्रहरी संगठनभित्र स्वस्थ प्रतिस्पर्धा विकास गर्दै कार्यसम्पादनलाई परिणाममुखी बनाउने उद्देश्यले गरिने यस्तो मूल्याङ्कनले प्रहरी कर्मचारीमा जिम्मेवारी बोध र कार्यदक्षता बढाउन थप प्रेरणा मिलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
धादिङ प्रहरीले प्राप्त गरेको यो उपलब्धिले आगामी दिनमा नागरिकको सुरक्षा, शान्ति व्यवस्था तथा गुणस्तरीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतालाई थप मजबुत बनाएको विश्वास गरिएको छ।