धादिङ ।
स्वच्छ वातावरण निर्माण तथा समाजमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल तमु गुरुङ विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति धादिङको आयोजनामा शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारी पार्कमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
गुरुङ विद्यार्थी, तमुस्यो, वडा नं. ९ कार्यालय तथा पार्क व्यवस्थापन समितिको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा सम्बन्धित पार्क क्षेत्रको व्यापक सरसफाइ गरी फोहोर व्यवस्थापन गरिएको थियो।
कार्यक्रम अन्तर्गत सार्वजनिक स्थललाई दीर्घकालीन रूपमा सफा र व्यवस्थित राख्न सहयोग पुग्ने उद्देश्यले सम्बन्धित निकायलाई चार वटा डस्टबिन र तीन वटा कुचो हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष प्रशान्त गुरुङले स्वच्छ वातावरण निर्माण केवल कुनै संस्था वा निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे। उनले वातावरण संरक्षणका यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
सहभागीहरूले सरसफाइ अभियानले वातावरणीय संरक्षणसँगै सामाजिक उत्तरदायित्व र नागरिक सचेतनाको सन्देश प्रवाह गरेको बताएका छन्।
समुदायस्तरमा सञ्चालन हुने यस्ता गतिविधिले स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरिएको छ।