धादिङ ।
सवारी साधन चलाउँदा लागूऔषध सेवन गर्ने चालकविरुद्ध धादिङ प्रहरीले निगरानी कडा बनाएको छ । चालकहरूको लागूऔषध सेवन परीक्षणका क्रममा मंगलबार दुई जना चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङ, ट्राफिक प्रहरी कार्यालय धादिङबेसी, धादिङ अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको संयुक्त टोलीले निलकण्ठ नगरपालिका–३ पुच्छारबजार क्षेत्रमा चालकहरूको लागूऔषध सेवन परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा लागूऔषध सेवन गरेर सवारी साधन चलाइरहेको पुष्टि भएपछि दुई चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ पर्नेमा ना १ ज ९००५ नम्बरको म्याजिक गाडी चालक निलकण्ठ नगरपालिका–३ निवासी २६ वर्षीय दिपक रिजाल र बा.प्र.०१–००२ ज ८८५९ नम्बरको ट्याक्सी चालक ललितपुर महानगरपालिका–४ निवासी ४३ वर्षीय बिनेस थापा रहेका छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत पक्राउ गरी जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल का अनुसार चालु अभियानअन्तर्गत चैत्र महिनादेखि हालसम्म जिल्लाभित्र लागूऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा २१ जना चालक पक्राउ परिसकेका छन् ।
प्रहरीले लागूऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन सम्पूर्ण चालकलाई आग्रह गरेको छ । साथै लागूऔषध सेवन गरेर वा लापरवाहीपूर्वक सवारी चलाएको आशंका लागेमा जिल्ला प्रहरी कार्यालय धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरिएको छ ।