सरकारी विज्ञापन विभेदकारी निर्णय कार्यान्वयन नगर्न धादिङका स्थानीय तहलाई महासंघको आग्रह

सरकारी विज्ञापन विभेदकारी निर्णय कार्यान्वयन नगर्न धादिङका स्थानीय तहलाई महासंघको आग्रह

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १५, २०८३

  • 98
    SHARES
सरकारी विज्ञापन विभेदकारी निर्णय कार्यान्वयन नगर्न धादिङका स्थानीय तहलाई महासंघको आग्रह

धादिङ

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले जिल्ला समन्वय समिति धादिङमार्फत जिल्लाभित्रका ११ गाउँपालिका र २ नगरपालिकालाई उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो।

महासंघले जिल्ला समन्वय समितिमा बुझाएको ध्यानाकर्षण पत्रमा नेपाली सञ्चार क्षेत्र लामो समयदेखि गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, सेवा–सुविधा तथा श्रम अधिकार प्रभावित भएको जनाएको छ। यस्तो अवस्थाले सञ्चारमाध्यमहरूको दिगोपन, स्वतन्त्रता तथा लोकतान्त्रिक भूमिकामाथि नै प्रश्न उठाएको महासंघको भनाइ छ।

महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत संघीय, प्रदेश र स्थानीय तहलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिन जारी गरिएको परिपत्र निजी तथा सामुदायिक सञ्चारमाध्यमप्रति विभेदपूर्ण, अन्यायपूर्ण तथा प्रेस स्वतन्त्रता विरोधी रहेको ठहर गरेको छ।

उक्त निर्णयले बहुलवादी सञ्चार प्रणाली कमजोर हुने, स्वतन्त्र पत्रकारिता प्रभावित हुने तथा लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर असर पर्ने महासंघले जनाएको छ। साथै संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक तथा खुला अर्थतन्त्रको सिद्धान्तसमेत प्रभावित हुने उल्लेख गरिएको छ।

महासंघले जिल्लाका सबै स्थानीय तहलाई स्वतन्त्र प्रेसको संरक्षण गर्न, निजी, सामुदायिक तथा सबै प्रकारका सञ्चारमाध्यमप्रति समान व्यवहार हुने वातावरण निर्माण गर्न आवश्यक समन्वय र पहल गर्न आग्रह गरेको छ।

साथै महासंघले सञ्चारकर्मीहरूको हकहित संरक्षण, सञ्चार क्षेत्रको विकास तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी र स्थानीय संचारमाध्यामका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्रमा हस्ताक्षर छ ।

जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माले संचार क्षेत्रकाे संरक्षण गरि स्थानीय सरकारसंग स्थानीय संचारमाध्याम र संचारकर्मीकालागि काम गर्न समन्वय गर्ने बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar