परम्परागत खेतीबाट व्यावसायिकता र पोषण सुरक्षातर्फको यात्रामा विपन्नवर्ग

परम्परागत खेतीबाट व्यावसायिकता र पोषण सुरक्षातर्फको यात्रामा विपन्नवर्ग

  • Kandara Samachar

  • बिहिबार, असार ११, २०८३

  • 43
    SHARES
परम्परागत खेतीबाट व्यावसायिकता र पोषण सुरक्षातर्फको यात्रामा विपन्नवर्ग
oplus_2

 

✍️ सीताराम अधिकारी /धादिङ ।

   केही वर्षअघिसम्म गल्छी गाउँपालिकाका ग्रामीण बस्तीहरूमा कृषि भनेको जम्मा घरायसी आवश्यकता पूर्ति गर्ने माध्यम मात्र थियो।

बजारको पहुँच नहुने, उत्पादनको उचित मूल्य नमिल्ने र जोखिमपूर्ण परम्परागत खेतीपातीले किसानहरूको जीवनमा स्थायी परिवर्तन ल्याउन सकेको थिएन। तर आज ती नै गरिबीले गाँजेकाे गाउँहरूमा परिवर्तनको नयाँ लहर देखिएको छ। परम्परागत खेतीबाट व्यावसायिक कृषि, पशुपालन र पोषण सुरक्षातर्फको यात्रा सुरु भएको छ।

यो यात्रालाई सम्भव बनाइरहेको छ,  खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) आयोजना क्लस्टर एकाइ गोरखा अन्तर्गत विज्ञ टोलीसहित पत्रकारहरुले गल्छी वडा नम्बर १ काे कल्लेरीटार र मसटारकाे अनुगमन गरेपछि गाउँ बासीमा आएकाे परिवर्तन देखिएकाे हाे ।

गल्नुगमनका क्रममा कृषक समूह र पोषण समूहका सदस्यहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दा किसानहरूको अनुहारमा देखिएको उत्साह र आत्मविश्वासले आयोजनाको प्रभाव स्पष्ट झल्किन्थ्यो।

व्यावसायिकतातर्फ उन्मुख किसानहरू

गल्छी गाउँपालिका–१ सेतीदेवी कृषक समूहकी गीता मगरले विगत सम्झिँदै भन्नुभयो, “पहिले जीविकोपार्जनका लागि मात्र खेती गर्थ्यौं। अब कुखुरापालन, बाख्रापालन र गाईभैँसी पालनलाई व्यावसायिक रूपमा अगाडि बढाएका छौं। आयोजनाको सहयोगले अपेक्षा गरेभन्दा राम्रो आम्दानी हुन थालेको छ।”

गल्छी गाउँपालिका–१ शर्मिला ढुंगानाले परियाेजनाकाे सहयाेग र समुदायकाे लगनशीलताले पाेषण सुधार भएकाे बताउनुभयाे ।

पोषणमा पनि जोड

फानसेपले कृषि र पशुपालनसँगै पोषण सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिएको छ। ‘हरेक बार खाना चार’ भन्ने अवधारणाअन्तर्गत सञ्चालित पोषण कार्यक्रमहरूले बालबालिका र महिलाहरूमा पोषण चेतना अभिवृद्धि गरेको छ।

सिद्धलेक गाउँपालिका–६ समिटारकी इन्दिरा पुलामी मगर भन्नुहुन्छ, “पोषण पाठशाला र घरबारी पोषण बगैंचाले परिवारलाई आफ्नै घरआँगनमा पोषणयुक्त खाद्यान्न उत्पादन गर्न प्रेरित गरेको छ। यसले बालबालिकाको पोषण सुरक्षा र पढाइमा समेत सकारात्मक प्रभाव पारेको छ।”

कृषि अधिकृत संयम पण्डितले बताउनुभयो, “पोषण कार्यक्रमले बालबालिका र महिलाहरूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार ल्याइरहेको छ।” कृषि अधिकृत बलदेवसिंह महरले थप्नुभयो, “व्यावसायिक बाख्रा, कुखुरा पालन र दूध बिक्रीबाट ग्रामीण महिलाहरूले प्रत्यक्ष आम्दानी गर्न थाल्नुभएको छ। यसले उहाँहरूको आर्थिक सहभागिता र आत्मनिर्भरता बढाएको छ।”

गरिब र पछाडि परेकालाई विशेष ध्यान

आयोजना क्लस्टर एकाइ गोरखाका प्रमुख होमनाथ लम्सालले भन्नुभयो, “समूहमा आबद्ध गरिब तथा पछाडि परेका कृषकहरूलाई आयोजनाले सहयोग उपलब्ध गराउँदा उनीहरूले प्रत्यक्ष फाइदा लिन सकेका छन्। ग्रामीण क्षेत्रको वास्तविक आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिरहेका छौं।”

मिडिया मोनिटरिङमा सहभागी गल्छी गाउँपालिका–१ कल्लेरीटारकी शर्मिला ढुंगानाले भन्नुभयो, “कृषक समूहहरूले आयोजनाबाट ठोस लाभ लिएका छन्। प्राप्त उपलब्धिलाई थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता छ।”

ठोस उपलब्धि र दिगो प्रभाव

फानसेपले धादिङ गल्छी र सिद्धलेकमा कृषि सम्बन्धी ९२, पशुपालन सम्बन्धी ८६ र पोषण सम्बन्धी ८५ गरी कुल २६३ समूहमार्फत काम गरिरहेको छ। स्थानीय गाउँपालिकासँगको साझेदारीमा सञ्चालित यो कार्यक्रमले दिगो विकास र आत्मनिर्भरतालाई बल पुर्‍याउने अपेक्षा गरिएको छ।

अनुगमन टोली गाउँ पुग्दा समूहका महिलाहरूले फूलमाला लगाएर स्वागत गर्नुभएको दृश्य अत्यन्त प्रेरणादायी थियो। परम्परागत कृषिमा बन्द रहेका महिलाहरू आज व्यावसायिक कृषि र पशुपालनमा सक्रिय बन्दै छन्। यो परिवर्तनले धादिङका ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि, पोषण सुरक्षा र सामाजिक रूपान्तरणको नयाँ अध्याय सुरु गरेको स्पष्ट देखिन्छ।

फानसेपको यो यात्रा केवल एउटा आयोजना मात्र होइन, ग्रामीण नेपालको उज्ज्वल भविष्यको एउटा जीवन्त उदाहरण बन्न पुगेको किसानहरुकाे भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar