धादिङ ।
स्वास्थ्य, सरसफाई र खानेपानीलाई मुख्य प्राथमिकतामा राख्दै ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा तथा अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरिएको हो।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार– समृद्ध ज्वालामुखीको मूल आधार’ भन्ने नारासहित गाउँपालिकाले आगामी वर्षका कार्यक्रम अघि बढाउने जनाएको छ। गाउँसभाले स्वास्थ्य सेवा विस्तार, सरसफाई व्यवस्थापन र सुरक्षित खानेपानीको पहुँच विस्तारलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, कृषि, पर्यटन तथा पूर्वाधार विकासका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाउने नीति लिएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमध्ये चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रुपैयाँ र पुँजीगततर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १२ करोड ११ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २२ करोड ७६ लाख तथा पुँजीगततर्फ २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै समपूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड ३१ लाख तथा राजस्व बाँडफाँडबाट ८ करोड ५६ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख ६६ हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ ८७ लाख ७१ हजार तथा पुँजीगततर्फ १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट समपूरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख तथा राजस्व बाँडफाँडतर्फ २ करोड १८ लाख १४ हजार १ सय २० रुपैयाँ प्राप्त हुने जनाइएको छ। गाउँपालिकाले आन्तरिक राजस्वबाट २ करोड २९ लाख ५५ हजार २ सय ८० रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
संघीय सरकारबाट प्राप्त ५० लाख रुपैयाँ समपूरक अनुदानका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड रुपैयाँ समपूरक अनुदानका लागि १ करोड रुपैयाँ साझेदारी गर्ने व्यवस्था मिलाइएको छ।
गाउँसभाले गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको करार अवधि थप ६ महिनाका लागि नवीकरण गर्ने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत हरेराम साहले जानकारी दिए। गाउँपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समृद्ध ज्वालामुखी निर्माणमा जोड दिने जनाएको छ।