धादिङ।
धादिङको गंगाजमुना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गंगाजमुना माई मेला बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गर्नुभएको छ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा हरिबोधनी एकादशीको अवसरमा प्रत्येक वर्ष लाग्ने ऐतिहासिक गंगाजमुना माई मेला यस वर्ष पनि धार्मिक आस्था र उत्साहका साथ सुरु भएको हो। स्थानीय जनविश्वासअनुसार यो मेला करिब १३ सय वर्षअघिदेखि लाग्दै आएको छ। पुस्तौँदेखि निरन्तर चल्दै आएको यस मेलाले धादिङको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जीवन्त राख्दै आएको छ।
मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले गंगाजमुना क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि बागमती प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस क्षेत्रको विकासका लागि पहुँचमार्ग निर्माणलगायतका पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो।
उद्घाटन समारोहमा संविधानसभा सदस्य धनबहादुर घले र पुष्पविक्रम मल्ल, बागमती प्रदेशसभा सदस्य सुनिल थापा र गोविन्द लम्साल, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले गंगाजमुना क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको चर्चा गर्दै मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले गंगाजमुना क्षेत्र धार्मिक आस्थाको केन्द्र मात्र नभई विभिन्न धर्म, संस्कृति र समुदायको साझा संगमस्थलसमेत रहेको बताउनुभयो। उहाँले गाउँपालिकाको समग्र विकाससँगै धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणमा विशेष ध्यान दिन प्रदेश सरकार, मुख्यमन्त्री तथा स्थानीय सरकारहरूलाई आग्रह गर्नुभयो।

धादिङको उत्तरी भेगमा अवस्थित गंगाजमुना झरना प्राकृतिक सौन्दर्य र धार्मिक विश्वासको अनुपम संगम हो। अग्लो चट्टानी पहराबाट करिब तीन सय मिटर तल खस्ने गंगा र जमुना नामका दुई छुट्टाछुट्टै जलधाराले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएका छन्। पहराको काखबाट सेतो दूधको धारा झैँ खस्ने झरनाको दृश्यले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ।
गंगाजमुना माईको उत्पत्तिबारे रोचक किंवदन्ती प्रचलित छ। स्थानीय जनश्रुतिअनुसार प्राचीनकालमा गंगा र जमुना नाम गरेका दुई दिदीबहिनी यस क्षेत्रमा एकाएक बेपत्ता भएका थिए। परिवारका सदस्यहरूले खोजी गर्दै जाँदा उनीहरू एउटा गुफाभित्र पुगेको र त्यहीँबाट आफूहरूलाई दैवी शक्तिका रूपमा पुज्न आग्रह गरेको किंवदन्ती छ। त्यसपछि उनीहरूकै नामबाट यस स्थानको नाम गंगाजमुना रहन गएको र धार्मिक पूजाआजा तथा मेला लगाउने परम्परा सुरु भएको स्थानीय जनविश्वास छ।
यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा मान्ने गरेका छन्। हरिबोधनी एकादशीको अवसरमा यहाँ स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। मेलाको अघिल्लो रात जाग्राम बस्ने, भोलिपल्ट बिहान झरनामा स्नान गर्ने, दीप प्रज्वलन गर्ने र गंगाजमुना माईको दर्शन तथा पूजाआजा गर्ने परम्परा रहँदै आएको छ। यस अवसरमा धादिङसहित गोरखा, नुवाकोट, काठमाडौँलगायत विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन्।
धार्मिक आस्थासँगै गंगाजमुना क्षेत्र प्राकृतिक पर्यटन, पदयात्रा, स्थानीय संस्कृति र जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण छ। व्यवस्थित सडक पहुँच, पदमार्ग, खानेपानी, आवास तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न सके यो क्षेत्र देशकै आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना छ।
करिब १३ सय वर्ष पुरानो धार्मिक परम्परा, प्राकृतिक झरना र स्थानीय किंवदन्तीले परिचित गंगाजमुना क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सरकारी लगानीसँगै स्थानीय समुदायको सक्रियता पनि उत्तिकै आवश्यक देखिन्छ।