धादिङ कांग्रेस क्षेत्र नं. १ मा सिंखडा सर्वसम्मत, क्षेत्र नं. २ मा मतगणना सुरु

धादिङ कांग्रेस क्षेत्र नं. १ मा सिंखडा सर्वसम्मत, क्षेत्र नं. २ मा मतगणना सुरु

  • Kandara Samachar

  • बिहिबार, अशोज १५, २०८३

  • 104
    SHARES
धादिङ कांग्रेस क्षेत्र नं. १ मा सिंखडा सर्वसम्मत, क्षेत्र नं. २ मा मतगणना सुरु

 

धादिङ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कुमारबहादुर सिंखडा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

दुई दिनअघिदेखि सुरु भएको क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया गजुरीमा सञ्चालन भइरहेको छ। क्षेत्र नं. १ मा १ हजार २४८ जना प्रतिनिधि सहभागी छन्। अधिवेशनबाट महासमिति सदस्य, प्रदेश तथा क्षेत्रीय समिति चयन गरिनेछ।

क्षेत्र नं. १ का सबै पद सर्वसम्मतबाटै टुंगो लगाउने प्रयास भइरहेको नेपाली कांग्रेसका नेता कृष्ण रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिमार्फत सबै पदमा उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ।

यसैबीच धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनअन्तर्गत धादिङबेसीमा मतगणना सुरु भएको छ। क्षेत्र नं. २ मा १ हजार ७५८ जना प्रतिनिधिले मतदान गरेका छन्।

मतगणनाको प्रारम्भिक परिणामअनुसार क्षेत्रीय सभापति पदमा ५० मत गणना हुँदा नवराज तिमिल्सिनाले १६ मत प्राप्त गर्नुभएको छ भने राजन बुर्लाकोटीले ३३ मत प्राप्त गर्नुभएको छ। १ मत बदर भएको छ।

क्षेत्र नं. २ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। क्षेत्रीय अधिवेशनबाट सभापतिसहित पदाधिकारी, महासमिति सदस्य तथा क्षेत्रीय समिति चयन गरिनेछ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar