धादिङ
भोटेकोसी बाढीमा परी ज्यान गुमाएका धादिङ उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणी दयाराम लम्सालको परिवारलाई सहकारीले बीमा रकमबाट ४ लाख ८ हजार १५ रुपैयाँ हस्तान्तरण गरेको छ।
सहकारीले बुधबार आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर धरेलले लम्सालको परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। लम्सालले सहकारीबाट ३ लाख रुपैयाँ ऋण लिँदा १ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिरेर ऋण बीमा गराउनुभएको थियो। सोही बीमाका आधारमा उहाँको निधनपछि परिवारले राहत रकम प्राप्त गरेको हो।
सहकारीका अध्यक्ष धरेलका अनुसार लम्सालको निधनपछि बीमा कम्पनीबाट क्रिया खर्चसहित ६ लाख १० हजार रुपैयाँ प्राप्त भएको थियो। लम्सालले सहकारीलाई तिर्न बाँकी रहेको २ लाख २ हजार रुपैयाँ ऋण सोही रकमबाट कट्टा गरिएको र बाँकी ४ लाख ८ हजार १५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको हो।
अध्यक्ष धरेलले सहकारीले ऋण लगानी गर्दा ऋणी तथा परिवारको सुरक्षालाई ध्यानमा राखेर बीमासहितको ऋण प्रवाह गर्दै आएको बताउनुभयो। भवितव्यका कारण ऋणीको मृत्यु वा अन्य क्षति हुँदा परिवारलाई आर्थिक भार कम गर्न बीमा उपयोगी हुने उहाँको भनाइ छ। उहाँले ऋण लिने सदस्यलाई अनिवार्य रूपमा बीमा गर्न र व्यवसायीलाई आफ्नो पसल तथा घरको समेत बीमा गराउन आग्रह गर्नुभयो।
सहकारीका उपाध्यक्ष बलराम खत्रीले व्यवसायीहरूको हितलाई ध्यानमा राखेर ऋण लगानीसँगै बीमा गर्ने व्यवस्था गरिएको बताउनुभयो। उहाँका अनुसार २०७१ सालमा स्थापना भएको सहकारीले दर्ता भएका व्यवसायी तथा कर, प्यान र भ्याटमा आबद्ध व्यवसायीलाई आवश्यक कागजातका आधारमा सदस्य बनाउँदै आएको छ।
५५ जना व्यवसायीबाट सुरु भएको सहकारीको कार्यक्षेत्र अहिले जिल्लाभर रहेको र करिब ३ करोड रुपैयाँको कारोबार गर्न सफल भएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो। व्यवसायीलाई आर्थिक रूपमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सहकारीले ऋण लगानीसँगै सदस्यको जोखिम न्यूनीकरणमा समेत ध्यान दिँदै आएको उहाँले बताउनुभयो।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बोधनाथ दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो। संस्थाका अध्यक्ष ईश्वर धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बलराम खत्री, महासचिव शरणकुमार श्रेष्ठ, कोषाध्यक्ष लोकप्रसाद सापकोटा, सचिव शुक्रकुमार श्रेष्ठ, सहकारीका सदस्य तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।