धादिङ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। अधिवेशनमा क्षेत्र तथा प्रदेशसभा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
क्षेत्र नं. २ का क्षेत्रीय सभापति राकेश धमलाको अध्यक्षतामा सुरु भएको अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री दिलमान पाख्रिन रहेका छन्।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश धमला, जिल्ला सभापति रामनाथ अधिकारी, नेपाली कांग्रेसका नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना लगायतका नेताहरूको आतिथ्यता रहेको छ।
अधिवेशनले क्षेत्र नं. २ को नयाँ क्षेत्रीय नेतृत्व चयन गर्नुका साथै प्रदेशसभा क्षेत्रको नेतृत्वसमेत चयन गर्नेछ। यसैगरी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू पनि अधिवेशनबाट चयन हुनेछन्।
नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै भइरहेको अधिवेशनलाई पार्टीको संगठनात्मक गतिविधि अघि बढाउने तथा स्थानीय तहदेखि क्षेत्रीय तहसम्म नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा लिइएको छ।
क्षेत्रीय तथा प्रदेशसभा अधिवेशनमा प्रतिनिधिहरूबीच नेतृत्व चयन, संगठन सुदृढीकरण र पार्टीको आगामी महाधिवेशनसँग सम्बन्धित विषयमा छलफलसमेत हुने बताइएको छ।