राजमार्गमा जताततै पहिराे खस्न थालेपछि राजमार्गहरु बन्द

राजमार्गमा जताततै पहिराे खस्न थालेपछि राजमार्गहरु बन्द

  • Kandara Samachar

  • शुक्रबार, अशोज ९, २०८३

  • 55
    SHARES
राजमार्गमा जताततै पहिराे खस्न थालेपछि राजमार्गहरु बन्द

 

धादिङ ।
दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण धादिङका सडकमा पहिरो खस्ने क्रम बढेपछि पृथ्वी राजमार्गको धादिङ खण्ड र त्रिभुवन राजपथको धादिङ खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाएको जनाएको छ। मौसममा आएको परिवर्तनसँगै धादिङ र आसपासका क्षेत्रमा विगत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागको सूचनाका आधारमा यातायात रोकिएको हो।

प्रशासनका अनुसार लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम जारी छ। सडक सञ्चालनमा रहँदा पहिरो तथा माथिबाट खस्ने ढुंगाका कारण यात्रु र सवारीसाधन जोखिममा पर्न सक्ने भएकाले सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न यातायात बन्द गरिएको हो।

गएरातिदेखि यातायात रोकिएसँगै विभिन्न स्थानमा पहिरो तथा ढुंगा खसे पनि सडकमा रहेका सवारीसाधन र यात्रु थप जोखिममा पर्नबाट जोगिएका छन्। यातायात सञ्चालनमा रहेको अवस्थामा पहिरो खस्दा हुन सक्ने दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सावधानीस्वरूप सडक बन्द गरेको हो।

धादिङका कृष्णभीरलगायत पृथ्वी राजमार्गका जोखिमयुक्त क्षेत्रमा वर्षासँगै माथिबाट ठूला ढुंगा र पहिरो खस्ने क्रम बढेको छ। राजमार्गको विभिन्न भागमा सडकको माथिल्लो भित्ताबाट पहिरो खस्ने तथा सडक आसपासको जमिन कमजोर हुने क्रमसमेत देखिएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक सडकमा यात्रा नगर्न तथा रोक लगाइएको सडकमा जबर्जस्ती सवारीसाधन नचलाउन आग्रह गरेको छ। यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राखेर अवस्था सामान्य भएपछि मात्रै यातायात सञ्चालनबारे निर्णय गरिने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) द्वारा जारी सूचनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग आवश्यक समन्वयका लागि सम्पर्क गर्न आग्रह गरिएको छ।

लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले धादिङ हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

बिहिबारदेखि राेकिएका सवारी िाधन धादिङकाे गल्धछी, गजुरी, मलेखु क्षेत्रमा छन् । सवारीसाधन राेकिएकाे स्थान सुरक्षित छ तर यात्रु सवारी चालकभने लामाे सवारी जामले हैरान भएकाे मलेखुका तिलक चेपाङले जानकारी दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar