धादिङ ।
भोटेकोसीमा हिमपहिरोपछि आएको बाढीबाट क्षतिग्रस्त बनेको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २३५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गल्छी गाउँपालिकाको स्थानीय सहयोग रहेको थियो भने इन्सेकले कार्यक्रम समन्वय गरेको थियो ।
शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, हाडजोर्नी तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुलीका अनुसार जनरल फिजिसियनतर्फ ८०, स्त्रीरोगतर्फ ५१, हाडजोर्नीतर्फ ८२ र मानसिक रोगतर्फ २२ जनाले सेवा लिएका छन् ।
शिविरमा जनरल फिजिसियन डा. दीपक सुन्दर श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. सरिता सटौल, मानसिक रोग विशेषज्ञ डा. प्रज्वल थापा र हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो ।
बाढीबाट अस्पतालको भौतिक संरचना, औषधि तथा स्वास्थ्य उपकरणमा क्षति पुगेपछि केही समय स्वास्थ्य सेवा प्रभावित बनेको थियो । सरसफाइ तथा आवश्यक व्यवस्थापनपछि अस्पतालबाट सेवा पुनः सुरु गरिएसँगै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
शिविर समापनका अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक, सहयोगी संस्था तथा स्थानीय सरकारलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार नर्स प्रसुना कँडेललगायतले आगामी दिनमा पनि अस्पतालको सेवा विस्तार तथा प्रगतिका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले विपद्का कारण अस्पताल बन्द भएपछि सकेसम्म छिटो सेवा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । विपद्पछि स्वास्थ्य सेवा अवरुद्ध हुँदा महामारी फैलिन सक्ने जोखिम रहने भएकाले नागरिकको जिउज्यानको सुरक्षा र स्वास्थ्य सेवा निरन्तरता दिन अस्पताल तत्काल सञ्चालन गर्नुपरेको उहाँको भनाइ थियो ।
बाढीबाट क्षतिग्रस्त अस्पताल पुनः सञ्चालनमा आएलगत्तै आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर अस्पतालका लागि ‘प्राणवायु’ जस्तै भएको डा. दाहालले बताउनुभयो । स्थानीय नागरिकले एकै ठाउँमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श पाउनु महत्वपूर्ण अवसर भएको उहाँले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले पठाउनुभएको सन्देशमा बैरेनी अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि समाजले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो ।
बाढीबाट प्रभावित क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् । अस्पतालको नियमित सेवा पुनः सञ्चालनसँगै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदा विपद्बाट प्रभावित स्थानीयवासीलाई स्वास्थ्य उपचारमा थप सहजता भएको आयोजकले जनाएको छ ।