गलौंदीका ४२ बाढीपीडित परिवारलाई आकस्मिक राहत

गलौंदीका ४२ बाढीपीडित परिवारलाई आकस्मिक राहत

  • Kandara Samachar

  • बिहिबार, भदौ २५, २०८३

  • 41
    SHARES
गलौंदीका ४२ बाढीपीडित परिवारलाई आकस्मिक राहत

धादिङ

गजुरी गाउँपालिका–५ गलौंदीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भोटेकोशी बाढी प्रभावित ४२ परिवारलाई आकस्मिक राहत सामग्री प्रदान गरिएको छ।

चाइल्डफण्ड जापानको आर्थिक सहयोग तथा प्रयास नेपाल धादिङको व्यवस्थापनमा भदौ २४ गते राहत सामग्री वितरण गरिएको हो। राहत वितरणमा गजुरी गाउँपालिका–५ को वडा कार्यालयले समन्वय गरेको थियो।

बाढीबाट विस्थापित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न भान्सामा प्रयोग हुने सामग्रीसहित दैनिक जीवनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको प्रयास नेपालले जनाएको छ। प्रत्येक परिवारलाई प्रेसर कुकर, कडाइ, डेग्ची, स्टिलका प्लेट, बाउल, गिलास, जग, चम्चा, पानी राख्ने बाल्टिन र प्लास्टिक बाटा प्रदान गरिएको छ।

त्यसैगरी उज्यालोका लागि रिचार्जेबल सोलार बत्ती, सरसफाइका लागि साबुन, डिटर्जेन्ट, टूथपेस्ट, टूथब्रस र तौलिया तथा पिउने पानीसमेत वितरण गरिएको छ। बाढी प्रभावित परिवारलाई लामखुट्टेबाट जोगिन आवश्यक सामग्री र त्रिपाल पनि उपलब्ध गराइएको छ।

परिवारमा रहेका सदस्यको संख्या र उमेर समूहलाई आधार मानेर आवश्यक कपडा तथा महिनावारी हुने उमेरका महिलाका लागि स्यानिटरी प्याडसमेत वितरण गरिएको थियो।

राहत सामग्रीले बाढीपछि अस्थायी बसोबासमा रहेका परिवारको दैनिक जीवन केही सहज हुने वडा अध्यक्ष गोबिन्द लामिछानेले बताउनुभयो। विपद्को समयमा प्राप्त सहयोगले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।

राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लामिछाने, चाइल्डफण्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष रेष्टन कँडेल, कार्यकारी निर्देशक दामोदर अर्याल, सेफ परियोजना व्यवस्थापक सन्तोष सत्याललगायतको सहभागिता थियो।

चाइल्डफण्ड जापानले प्रयास नेपाल धादिङसँगको साझेदारीमा बेनीघाट रोराङ गाउँपालिकामा शिक्षामा पहुँच सुनिश्चित गर्ने परियोजनासमेत सञ्चालन गर्दै आएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar