९ दिनपछि खुल्यो सिद्धलेक–७ वडा कार्यालयको ताला

९ दिनपछि खुल्यो सिद्धलेक–७ वडा कार्यालयको ताला

  • Kandara Samachar

  • बुधबार, भदौ ३, २०८३

  • 34
    SHARES
९ दिनपछि खुल्यो सिद्धलेक–७ वडा कार्यालयको ताला

धादिङ ।

कर्मचारी शान्ति मगरातीको सेवासम्बन्धी विवादका कारण ९ दिनदेखि बन्द रहेको धादिङको सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय खुलेको छ। मगरातीलाई पुनर्बहाली गर्ने पत्र प्राप्त भएपछि स्थानीय बासिन्दाले भदौ २ गते वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्।

मगरातीलाई सेवाबाट हटाइएको विरोधमा स्थानीयले साउन २५ गतेदेखि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए। तालाबन्दीका कारण वडा कार्यालयबाट प्रदान हुने प्रशासनिक तथा सिफारिसलगायतका नियमित सेवा प्रभावित भएका थिए। सेवा लिन पुगेका सर्वसाधारणसमेत ९ दिनसम्म मर्कामा परेका थिए।

मगरातीले पछिल्लो समय वडा सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएकी थिइन्। गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले साउन ६ गते पत्र पठाउँदै गाउँपालिकाको ४२औँ बैठकको निर्णयअनुसार दरबन्दीभन्दा बाहिर करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने जानकारी गराएकी थिइन्। सोही निर्णयका आधारमा मगरातीको सेवा निरन्तरता नगरिएको थियो।

तर मगरातीलाई हटाउने निर्णयप्रति स्थानीयले असन्तुष्टि जनाउँदै पुनर्बहालीको माग गरेका थिए। उनीहरूले निर्णय व्यक्तिगत आग्रह–पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै मगराती पुनर्बहाली नभएसम्म वडा कार्यालयको ताला नखोल्ने अडान लिएका थिए।

स्थानीयको दबाबपछि मगरातीलाई पुनर्बहाली गरिएको पत्र प्राप्त भएको हो। पुनर्बहाली भए पनि उनलाई यसअघि जिम्मेवारी सम्हाल्दै आएको वडा नम्बर ७ मा नभई सिद्धलेक गाउँपालिका–४ को वडा सचिवको जिम्मेवारीमा खटाइएको छ।

ताला खुलेसँगै ९ दिनदेखि अवरुद्ध रहेको वडा कार्यालयको नियमित सेवा पुनः सञ्चालनमा आएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar