मकाउ ।
लामो समयदेखि मकाउमा बस्दै आएका समाजसेवी तथा धादिङ समाज मकाउका संस्थापक संयोजक नवराज लम्साल पुनः धादिङ समाज मकाउको संयोजकमा चयन भएका छन्।
समाजमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लम्सालले यसअघि पनि धादिङ समाज मकाउको संयोजकका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए। सामाजिक एकता, आपसी सहयोग तथा धादिङवासीबीचको सम्बन्ध सुदृढ बनाउन उनले निरन्तर योगदान पुर्याउँदै आएका छन्।
अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढेको छ। सोही क्रममा धादिङ समाज मकाउले पनि आफ्नो संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने तयारी गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा पुनः संयोजकको जिम्मेवारी पाएसँगै लम्सालले मकाउमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै समाजका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, संस्थाले उनलाई सफल कार्यकालको हार्दिक शुभकामना समेत दिएको छ।