धादिङ ।
वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले माग गरेकाे छ ।
वरिष्ठ पत्रकार श्रेष्ठलाईपक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले पत्रकार श्रेष्ठलाई तत्काल विनाशर्त रिहा गर्न सरकारसँग माग गरेको हाे ।
महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले गृह मन्त्रालयलाई पठाएको ज्ञापनपत्रमा कुनै सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रचलित कानुन, प्रेस काउन्सिल नेपाल तथा पत्रकार आचारसंहिताको प्रक्रियाअनुसार उजुरी, खण्डन वा प्रतिक्रिया दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकार पक्राउ गरिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा विश्वभर स्थापित लोकतान्त्रिक मान्यता, कानुनी प्रक्रिया र आचारसंहिताको आधारभूत सिद्धान्तलाई पूर्णतः बेवास्ता गर्दै वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाले नेपाल पत्रकार महासंघ र पत्रकार समुदायको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चारमाध्यम र पत्रकारलाई तर्साउने तथा धम्क्याउने नियतले गरिएको कुनै पनि कार्य स्वीकार्य नहुने महासंघले जनाएको छ।
पत्रकार श्रेष्ठलाई कुन कारण र आधारमा पक्राउ गरिएको हो भन्ने विषय सार्वजनिक गर्नसमेत महासंघले जोडदार माग गरेको छ। सञ्चारमाध्यममा प्रकाशित सामग्रीसँग सम्बन्धित विवाद वा असहमतिलाई प्रेस काउन्सिल नेपालमार्फत कानुनी र न्यायोचित ढंगले समाधान गर्नुपर्ने महासंघको स्पष्ट धारणा छ।
नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी राज्यको मूल्यमान्यताको सम्मान गर्नु राज्यका प्रत्येक संयन्त्रको संवैधानिक दायित्व भएको ज्ञापनपत्रमा उल्लेख छ। पछिल्लो समय सरकार मिडिया र स्वतन्त्र पत्रकारितालाई नियन्त्रण, संकुचन र दमन गर्ने दिशातर्फ केन्द्रित भइरहेको आभास भइरहेको भन्दै महासंघले लोकतन्त्रमा प्रेसमाथि हुने कुनै पनि प्रकारको दमन र हस्तक्षेप स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ।
महासंघ धादिङले गिरफ्तार गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल विनाशर्त रिहा गर्न तथा स्वतन्त्र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।