धादिङ ।
धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, एकता र सहअस्तित्वको नमुना जिल्ला बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले व्यक्त गर्नुभएकाे छ ।
नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा भएको सद्भाव प्रवचन तथा नागरिक समाज भेलामा विभिन्न धर्मका धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिले सामाजिक सद्भावको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभयाे। नागरिक समाज धादिङका अध्यक्ष उत्तम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा धर्म फरक भए पनि सबै धर्मको मूल उद्देश्य शान्ति, प्रेम, क्षमा, सद्भाव र मानव सेवा रहेको धारणा व्यक्त गरिएको थियो ।
धार्मिक आस्थाका आधारमा समाजमा विभाजन, द्वेष र घृणा सिर्जना हुन नदिने तथा साझा मानवीय मूल्य र मानवताको आधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रतिबद्धता पत्रमा धार्मिक सहिष्णुता र सम्मान, विभेदको अन्त्य, सद्भाव र सहकार्य, द्वेष तथा हिंसाको रोकथाम, जिम्मेवार अभिव्यक्ति तथा शान्ति र एकताको प्रतिबद्धता गरी छ विषय समेटिएका छन् ।
सबै धर्म, समुदाय, परम्परा, संस्कृति र आस्थाप्रति समान सम्मान र सहिष्णु व्यवहार गर्ने प्रतिबद्धता जनाइएको छ । धर्म, जात, लिङ्ग, भाषा, संस्कृति वा आस्थाका आधारमा हुने कुनै पनि प्रकारको भेदभाव, घृणा, अपमान तथा विभाजनलाई निरुत्साहित गर्ने उल्लेख छ ।
त्यसैगरी अन्तरधार्मिक संवाद र सहकार्यलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, विपद्, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा एकजुट भएर काम गर्ने प्रतिबद्धता गरिएको छ ।
धर्मका नाममा फैलाइने अफवाह, घृणा, उत्तेजना र हिंसात्मक गतिविधिको सामूहिक रूपमा विरोध गर्दै शान्ति, मानवता र सहअस्तित्वको प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि धर्मगुरुहरूले जनाएका छन् ।
सार्वजनिक कार्यक्रम, धार्मिक प्रवचन तथा सामाजिक सञ्जालमा अरूको आस्था र भावनामा चोट नपुग्ने गरी संयमित, मर्यादित र सम्मानजनक भाषा प्रयोग गर्ने उल्लेख प्रतिबद्धता पत्रमा छ ।
धार्मिक तथा सांस्कृतिक विविधतालाई जिल्लाको साझा सम्पत्तिका रूपमा स्वीकार गर्दै धादिङलाई ‘शान्ति, सद्भाव, एकता र सहअस्तित्वको नमुना जिल्ला’ बनाउन निरन्तर योगदान गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
प्रतिवद्धतामा विश्व हिन्दु महासंघका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नेपाल बौद्धधर्म विश्व शान्ति चक्र संघका अध्यक्ष गंगा बहादुर लामा, धादिङ इसाई समाजका अध्यक्ष लेकबहादुर तामाङ र मुस्लिम समाज धादिङका अध्यक्ष समसुदिन मियाँ हस्ताक्षर गर्नुभयाे ।
कार्यक्रममा सहभागी अन्य धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिहरूले समेत प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

धर्मगुरुहरु एउटै विरुवामा पानी हाल्दै
धार्मिक विविधतालाई द्वन्द्वको कारण नभई समाजको शक्ति र पहिचानका रूपमा स्थापित गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । धर्मगुरुहरूले एकअर्काको धार्मिक आस्था, संस्कार र संस्कृतिको सम्मान गर्दै सामाजिक समस्या समाधान तथा मानवीय सेवाका काममा सहकार्य गर्ने बताउनुभयो ।
नागरिक समाज धादिङले विभिन्न धर्म, समुदाय र सामाजिक क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याएर अन्तरधार्मिक संवाद, सामाजिक सद्भाव र सहअस्तित्वलाई संस्थागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयाे ।
नागरिक समाजकाे भेलाले उत्तम कँडेलकाे अध्यक्षतामा नागरिक समाज धादिङलाई सक्रिय बनाउदै नागरिकका सवालमा पैरवी गर्ने निर्णय गरेकाे छ ।