युवा पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्न धादिङका युवाकाे माग

युवा पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्न धादिङका युवाकाे माग

  • Kandara Samachar

  • बुधबार, साउन २७, २०८३

  • 105
    SHARES
युवा पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्न धादिङका युवाकाे माग
oplus_2

धादिङ ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा धादिङका युवाहरूले युवालाई विकासको लक्षित समूह मात्र नभई विकासको साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन्।

जिल्लामा सक्रिय विभिन्न युवा सञ्जाल, युवा समूह, युवा उद्यमी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको छलफल, संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव तथा साझा सरोकारका विषय समेटेर ‘धादिङ युवा घोषणापत्र २०८३’ सार्वजनिक गरिएको हो।

घोषणापत्रमा नेपालको कुल जनसंख्याको ४०.७० प्रतिशत हिस्सा युवा उमेर समूहमा रहेको उल्लेख गर्दै युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई स्थानीय विकाससँग जोड्न संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, नागरिक समाज तथा विकास साझेदारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहका सबै लिंग, जात, जाति, वर्ग, धर्म र क्षेत्रका व्यक्तिलाई युवा मानेको सन्दर्भ उल्लेख गर्दै घोषणापत्रमा युवासम्बन्धी शिक्षा, रोजगारी, स्वास्थ्य, सुरक्षा, सशक्तीकरण, नेतृत्व र सहभागिताका विषयलाई प्राथमिकतामा राखिएको छ।

धादिङका युवाले बेरोजगारी, सीप तथा रोजगारीका अवसरको कमी, उद्यमशीलताका लागि वित्तीय पहुँचको अभाव, मानसिक स्वास्थ्य, डिजिटल सुविधामा पहुँचको कमी, निर्णय प्रक्रियामा न्यून सहभागिता तथा युवा महिलाले भोगिरहेका सामाजिक चुनौतीलाई प्रमुख समस्याका रूपमा औंल्याएका छन्।

युवाका १५  माग

घोषणापत्रमार्फत युवाहरूले स्थानीय रोजगारी सिर्जना तथा युवा रोजगार नीति निर्माण गर्नुपर्ने, युवा उद्यमशीलता र स्टार्टअपका लागि सहुलियतपूर्ण वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै कृषि, पर्यटन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रमा युवा उद्यम प्रवर्द्धन, बजारसँग जोडिएको सीपमूलक तथा व्यावसायिक शिक्षा, वैदेशिक रोजगारीमा जाने युवाका लागि सुरक्षित, सीपयुक्त र मर्यादित रोजगारी तथा फर्किएका आप्रवासी युवाको सीप, पुँजी र अनुभवलाई स्थानीय उत्पादनमा प्रयोग गर्ने नीति ल्याउन माग गरिएको छ।

युवा महिलाका लागि नेतृत्व, रोजगारी तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा दलित, जनजाति, अपाङ्गता भएका र आर्थिक रूपमा कमजोर युवाका लागि लक्षित अवसर सुनिश्चित गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

स्थानीय तहको योजना तथा बजेट निर्माणमा युवाको अर्थपूर्ण सहभागिता, प्रत्येक स्थानीय तहमा ‘युथ इन्फर्मेसन/रिसोर्स सेन्टर’ स्थापना, डिजिटल साक्षरता, कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल उद्यमशीलतामा युवालाई अवसर, युवा मानसिक स्वास्थ्य, करियर काउन्सिलिङ तथा जीवनोपयोगी सीपका कार्यक्रम सञ्चालन गर्न पनि माग गरिएको छ।

यसैगरी खेलकुद, कला, संस्कृति तथा सिर्जनशील उद्योगमा युवाको लगानी प्रवर्द्धन, युवाको नेतृत्वमा सामाजिक नवप्रवर्तन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन र स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज तथा युवाबीच नियमित संवादका लागि ‘धादिङ युवा नेटवर्क’ स्थापना गर्न माग गरिएको छ।

युवाको आठबुँदे प्रतिबद्धता

घोषणापत्रमा धादिङका युवा समूह तथा सञ्जालले आफ्नातर्फबाट आठबुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

युवाहरूले सामाजिक सद्भाव, समानता र समावेशिताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, अधिकारसँगै आफ्नो जिम्मेवारी र कर्तव्यप्रति सचेत रहने तथा स्थानीय विकास र सामाजिक परिवर्तनका अभियानमा स्वयंसेवी रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

युवा महिला तथा पछाडि पारिएका समुदायका युवाको नेतृत्व विकासमा सहकार्य गर्ने, वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका अभियानमा सक्रिय सहभागिता जनाउने र डिजिटल प्रविधिको सुरक्षित, सिर्जनात्मक तथा जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ।

त्यस्तै युवाका साझा सवालमा स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गर्ने र युवाको आवाजलाई संगठित, रचनात्मक तथा तथ्यमा आधारित रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाइएको छ।

सरकारलाई सामूहिक आह्वान

धादिङका युवाले संघ, प्रदेश र स्थानीय सरकारलाई युवालाई ‘लक्षित समूह’ मात्र नभई ‘विकासका साझेदार र नेतृत्वकर्ता’ का रूपमा स्वीकार गर्न आह्वान गरेका छन्।

घोषणापत्रमा उल्लेखित माग तथा प्रतिबद्धतालाई सरकारका नीति, योजना, बजेट तथा कार्यक्रमसँग जोड्दै कार्यान्वयनका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ।

युवाको आवाज सुनौँ, अवसरको सिर्जना गरौँ, नेतृत्वमा सहभागी गराऔँ, समृद्ध धादिङ निर्माण गरौँ’ भन्ने आह्वानसहित घोषणापत्र सार्वजनिक गरिएको हो।

युवालाई विदेश जान रोक्नेभन्दा स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने

घोषणापत्रको निष्कर्षमा धादिङको ठूलो युवा जनसंख्या जिल्लाका लागि महत्वपूर्ण सम्भावना भएको उल्लेख गरिएको छ। युवालाई शिक्षा, सीप, पुँजी, प्रविधि, रोजगारी, उद्यमशीलता र निर्णय प्रक्रियासँग जोड्न सके धादिङको आर्थिक तथा सामाजिक रूपान्तरणलाई तीव्र बनाउन सकिने युवाहरूको निष्कर्ष छ।

तर बढ्दो बसाइँसराइ तथा वैदेशिक रोजगारीको अवस्थाले युवालाई विदेश जान रोक्ने मात्र नभई स्वदेशमै अवसर सिर्जना गर्ने नीति आवश्यक रहेको स्पष्ट सन्देश दिएको घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रको मूल प्रतिबद्धता ‘युवा पलायन रोकौँ, युवाका लागि अवसर सिर्जना गरौँ, धादिङ निर्माण गरौँ’ भन्ने रहेको छ। युवाहरू दर्शक नभई विकासका नेतृत्वकर्ता र साझेदार भएको भन्दै त्यसअनुसार राज्यका नीति तथा कार्यक्रम निर्माण गर्न माग गरिएको छ।

घोषणापत्रमा हस्ताक्षर गर्नेहरू

‘धादिङ युवा घोषणापत्र २०८३’ मा विभिन्न युवा तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

हस्ताक्षरकर्तामा ग्रामीणमुखी युवा अभियान (रोयम नेपाल) धादिङका जिल्ला परियोजना संयोजक हरिशरण धिताल, रोट्रयाक क्लब अफ धादिङका अध्यक्ष भवानी भट्टराई, परिवर्तन जिल्ला युवा महिला सञ्जाल धादिङकी अध्यक्ष आकृति थापा, युवा मानव अधिकार रक्षक सञ्जाल धादिङकी अध्यक्ष स्नेह श्रेष्ठ, ग्लोबल नेपालका कार्यकारी निर्देशक नारायण कुमार श्रेष्ठ, रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कडेल र रोट्रयाक क्लब अफ धादिङका सल्लाहकार अशोक कुमार बस्नेत रहेका छन्।

घोषणापत्रले धादिङका युवाको वर्तमान समस्या, अवसर र सम्भावनालाई सम्बोधन गर्दै आगामी दिनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र युवाबीच सहकार्य बढाउन साझा आधार तयार गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar