कर्मचारी हटाएको बिराेधमा सिद्धलेक–७ वडा कार्यालयमा तालाबन्दी : कार्यदलकाे सिफारिस विपरीत कर्मचारी हटाएकाे बिराेध

कर्मचारी हटाएको बिराेधमा सिद्धलेक–७ वडा कार्यालयमा तालाबन्दी : कार्यदलकाे सिफारिस विपरीत कर्मचारी हटाएकाे बिराेध

  • Kandara Samachar

  • सोमवार, साउन २५, २०८३

  • 59
    SHARES
कर्मचारी हटाएको बिराेधमा सिद्धलेक–७ वडा कार्यालयमा तालाबन्दी : कार्यदलकाे सिफारिस विपरीत कर्मचारी हटाएकाे बिराेध

धादिङ । 

सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय एकाबिहानै तनावग्रस्त बन्यो। वडा सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएकी शान्ति मगरातीको करार नवीकरण नगर्ने गाउँपालिकाको निर्णय सार्वजनिक भएसँगै आक्रोशित स्थानीयले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरिदिए।
स्थानीयको मुख्य माग एउटै छ— गाउँपालिकाकै अध्ययन कार्यदलको सिफारिस बमोजिम मगरातीको करार सेवा तत्काल नवीकरण गरियोस्।

विवादको जग: कार्यदलको प्रतिवेदन मिचेको आरोप

गाउँपालिकाले २०८३ जेठ २९ गते करार कर्मचारीको अवस्थाबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले असार ७ गते बुझाएको प्रतिवेदनमा कुन कर्मचारीलाई निरन्तरता दिने र कसलाई नदिने भन्ने स्पष्ट सिफारिस थियो।
तर, गाउँपालिकाले सो सिफारिसविपरीत निर्णय गरेको वडा अध्यक्ष सानो गिरी स्वयम् बताउँछन्।
“कार्यदलले निरन्तरता दिनुपर्छ भनेका कर्मचारीलाई हटाइयो, अनि हटाउनुपर्छ भनेकालाई निरन्तरता दिइयो,” वडा अध्यक्ष गिरीले असन्तुष्टि पोखे, “हटाउने सूचीमै नरहेकी शान्ति मगरातीलाई एकाएक हटाउने निर्णय हुनु रहस्यमय छ।”
वडा अध्यक्षका अनुसार कार्यदलले सात स्वास्थ्यकर्मी, दुई नगर प्रहरी, तीन कृषि प्राविधिक र पाँच कार्यालय सहयोगीलाई नियमित नगर्न सिफारिस गरेको थियो। तर, सो प्रतिवेदन थन्क्याएर गाउँपालिकाले असार ३२ को सूचना र ४२ औँ कार्यपालिका बैठकको दुहाइ दिँदै मगरातीसहित वडा नं. १ की राममाया सिलवाल र वडा नं. ५ की यमु घलेलाई समेत बिदा गर्‍यो।

विभेदकारी निर्णय र गाउँपालिकाको तर्क

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यद्वारा साउन ६ गते काटिएको पत्रमा भनिएको छ— ‘आन्तरिक आयको विद्यमान अवस्था र दरबन्दीभन्दा बाहिर तथा कार्यक्रम करारमा रहेकाले म्याद थप नगर्ने निर्णय गरिएको हो।’
तर, गाउँपालिकाको यो तर्कसँग स्थानीय र पूर्वजनप्रतिनिधि सहमत छैनन्।
२०६७ सालदेखि तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकका रूपमा छिरेकी मगरातीले पछिल्लो एक वर्षदेखि वडा सचिवकै जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएकी थिइन्। उनीसँगै उस्तै पृष्ठभूमि (सामाजिक परिचालक) बाट आएका र वडा सचिव चलाइरहेका तारानाथ सिलवाल र ज्ञानु थापामगरको भने करार थपिएको छ।
“उस्तै प्रकृतिका अन्य कर्मचारीको करार थप्ने, तर मगरातीलाई आन्तरिक आयको बहाना बनाएर हटाउने? यसले गाउँपालिकाको नियतमाथि नै ठूलो प्रश्न उठाएको छ,” सिद्धलेक–७ का पूर्ववडा अध्यक्ष लक्ष्मण खतिवडाले भने।

सेवा प्रभावित, थप आन्दोलनको चेतावनी

वडामा तालाबन्दी भएपछि सर्वसाधारणको नियमित प्रशासनिक काम र सेवा प्रवाह पूर्ण रूपमा ठप्प बनेको छ।
स्थानीय बुद्धिराज उपरकोटीका अनुसार लामो समयदेखि वडाको सेवामा खटिएकी कर्मचारीलाई अन्यायपूर्ण रूपमा निकालिएकाले हस्ताक्षरसहितको निवेदन बुझाएर विरोधमा उत्रिनुपरेको हो। माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी स्थानीयले दिएका छन्।
वडा अध्यक्ष गिरीले पनि जनताले प्रत्यक्ष सेवा पाउने थलो लामो समय बन्द रहन नहुने भन्दै गाउँपालिकालाई तत्काल वार्तामार्फत समस्या सुल्झाउन आग्रह गरेका छन्।
यता, गाउँपालिकाको आधिकारिक धारणा लिन प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यलाई सम्पर्क गर्दा उहाँ फोन सम्पर्कमा आउनुभएन। कार्यदलको सिफारिस र गाउँपालिकाको निर्णयबीचको यो ‘द्वन्द्व’ले सिद्धलेकमा स्थानीय तह र जनताबीचको दूरी भने बढाउँदै लगेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar