धादिङ प्रहरीद्वारा १९६ वर्ष कैद र २ कराेड ७४ लाख जरिवाना असुल : ४१८ मुद्दा दर्ता

धादिङ प्रहरीद्वारा १९६ वर्ष कैद र २ कराेड ७४ लाख जरिवाना असुल : ४१८ मुद्दा दर्ता

  • Kandara Samachar

  • शनिबार, साउन ९, २०८३

  • 40
    SHARES
धादिङ प्रहरीद्वारा १९६ वर्ष कैद र २ कराेड ७४ लाख जरिवाना असुल : ४१८ मुद्दा दर्ता

✍️ प्रविण रिजाल/ धादिङ

जिल्ला प्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका कुल ४१८ मुद्दामध्ये २९० जना मात्र प्रतिवादी पक्राउ गरेको जनाएको छ। यस अवधिमा फैसला कार्यान्वयनअन्तर्गत २०० फरार प्रतिवादी पक्राउ गरी १९६ वर्ष ८ महिना २५ दिन कैद र रु. २ करोड ७४ लाख ३६ हजार ५ सय ६४ जरिवाना असुल गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दर्ता भएका ४१८ मुद्दामध्ये सामान्य १०५, गम्भीर ६४, जघन्य ३३ र दुई वर्षे कैदसम्बन्धी २१३ मुद्दा रहेका छन्। फैसला कार्यान्वयनमा भने उल्लेखनीय प्रगति देखिएको छ। फरार रहेका २०० प्रतिवादी पक्राउ गरी लामो कैद र ठूलो रकम जरिवाना असुल गरिएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा ५१ मुद्दा दर्ता भएका छन्। जसमा महिलाविरुद्ध २८, बालबालिकाविरुद्ध २० र ज्येष्ठ नागरिकविरुद्ध ३ मुद्दा रहेका छन्। आर्थिक अपराधअन्तर्गत बैंकिङ कसुरमा ५९ र ठगीमा ३ मुद्दा दर्ता भएका छन्। साइबर अपराधसम्बन्धी ११४ निवेदन दर्ता भएका छन्। जसमध्ये जिल्ला प्रहरी कार्यालय धादिङमा ८४, इलाका प्रहरी कार्यालय गजुरीमा २१ र इलाका प्रहरी कार्यालय खानीखोलामा ९ निवेदन परेकाे जिल्ला प्रहरी कनरार्यालय धादिङका  प्रहरी नायव उपरीक्षक तथा सूचना  अधिकारी प्रकाश दहालले जानकारी दिनुभयाे ।

आर्थिक वर्ष २०८२/८३ मा धेरै घटेका अपराधहरूमध्ये आत्महत्या ९६ घटनासहित पहिलो स्थानमा रहेको छ। त्यसपछि अभद्र व्यवहार ३२, जबरजस्ती करणी २५, चोरीसम्बन्धी १७ र सवारीसम्बन्धी ३० मुद्दा दर्ता भएका छन्। आत्महत्याका ९६ घटनामध्ये झुन्डिएर ८२, विष सेवनबाट १३ र हाम फालेर १ जनाको मृत्यु भएको छ।

लागुऔषध बरामदमा गाँजा ८४३ किलो ४३५ ग्राम १३० मिलिग्राम, चरेस २ किलो ९८८ ग्राम ५२० मिलिग्राम, अफिम ५१ किलो ५०० ग्राम, ब्राउन सुगर (खैरो हिरोइन) १४ ग्राम ८९०.२८० मिलिग्राम र ट्रामाडोल हाइड्रोक्लोराइडका ७८ हजार ४ सय ८ क्याप्सुल बरामद भएका छन्। यसबाट ७० जना पक्राउ परेका छन् भने मोटरसाइकल ४, स्कुटर १, एम्बुलेन्स १, अटो १, मिनी ट्रक १ र भारतीय ट्रक १ समेत बरामद भएका छन्।

सडक सुरक्षा तथा दुर्घटनासम्बन्धी विवरणअनुसार २१८ सवारी दुर्घटना हुँदा ४४ जनाको मृत्यु र ५३९ जना घाइते भएका छन्। यसमा ३० मुद्दा दर्ता भई ८ हजार ४ कारबाहीबाट रु. ७२ लाख २९ हजार २ राजस्व संकलन भएको छ। दुर्घटना न्यूनीकरणका २ हजार ८ सय २५ कार्यक्रमबाट २ लाख ८० हजार १ सय ५० जना लाभान्वित भएका छन्। घरेलु हिंसाका ७५ उजुरी परेकामा ६८ मिलापत्र गरिएको र ७ अदालत पठाइएको छ।

यस वर्ष १३२ जना हराएकामा १२२ जना फेला परेका छन् भने १० जना फेला पर्न बाँकी छन्। प्रत्यक्ष प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत गरी कुल ३१९ उजुरी परेकामा ३१२ मिलापत्र भएका छन्।

जिल्लामा मुख्य अपराध अनुसन्धानका क्रममा त्रिपुरासुन्दरी गाउँपालिकामा आमाको हत्या, गंगाजमुना गाउँपालिकामा छोराबाट बाबुको हत्या, सिद्धलेक गाउँपालिकामा ज्येष्ठ नागरिकको हत्या, बेनीघाट रोराङमा ५१ किलो १८० ग्राम अफिमसहित फरार व्यक्ति पक्राउ, भारतीय मिनी ट्रकमा २१९.२१ किलो गाँजासहित दुई जना पक्राउ, एम्बुलेन्समा गाँजा बरामद, ७८ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ, बस दुर्घटनामा १९ जनाको मृत्यु तथा साइबर धम्कीका कारण किशोरीको आत्महत्याजस्ता घटना अनुसन्धान भएका छन्।

सार्वजनिक चासोका पेन्डिङ मुद्दामा २२ वर्षपछि कर्तव्य ज्यानका फरार प्रतिवादी, नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी र २०६४ सालको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले बताउनुभयाे ।

विपद्का ४१ घटनाबाट ६ जनाको मृत्यु, १३ घाइते र २ बेपत्ता भएका छन् भने १ सय १५ चौपायाको मृत्यु भएको छ। नागरिकता सर्जमिन, चालचलन सिफारिस, हतियार नवीकरण लगायतका ६ सय २८ मुचुल्का गरिएका छन्। हटलाइन १०० मा ३ हजार ३ सय ४४ र ट्राफिक हटलाइन १०३ मा ७ हजार १ सय १७ कल आएका छन्। जिल्ला प्रहरी कार्यालयमा सेवाग्राहीको कुल संख्या १० हजार ५ सय ८६ रहेको छ।

विविध कार्य प्रगतिमा जेन–जी आन्दोलनमा फरार १ सय ५३ कैदीबन्दी पक्राउ, अवैध हातहतियार ५ नाल बरामद, अवैध क्रिस्टल १२४ किलो, भन्सार चोरी नियन्त्रणबाट रु. १८ लाख ५१ हजार ७ सय ६०, काठ १ सय ७७ क्यूफिट, नदिजन्य पदार्थ उत्खननमा २६ सवारी कारबाही, अवैध गाँजा–अफिम फँडानी, घरेलु मदिरा २ हजार १ सय ८५ लिटर नष्ट लगायतका कार्य भएका छन्।

जिल्ला प्रहरी कार्यालयले निःशुल्क निवेदन लेख्ने व्यवस्था, भर्चुअल म्याद थप, लागुऔषध सेवन चेकजाँच अभियान, सीसीटीभी अभियान र राजमार्गमा होल्डिङ सेन्टर स्थापना जस्ता नवप्रवर्धनात्मक कार्यसमेत गरेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar