लगातार तेस्रो पटक उत्कृष्ट बन्यो धादिङ प्रहरी कार्यालय

लगातार तेस्रो पटक उत्कृष्ट बन्यो धादिङ प्रहरी कार्यालय

  • Kandara Samachar

  • बिहिबार, साउन ७, २०८३

  • 52
    SHARES
लगातार तेस्रो पटक उत्कृष्ट बन्यो धादिङ प्रहरी कार्यालय

धादिङ ।

जिल्ला प्रहरी कार्यालय धादिङ नेपाल प्रहरी प्रधान कार्यालयको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक प्रथम हुन सफल भएको छ।

प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा रहेका देशभरका १५ पहाडी जिल्लाका प्रहरी कार्यालयहरूमध्ये धादिङले असार महिनाको मासिक कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि पनि लगातार दुई महिनासम्म प्रथम बनेको धादिङ प्रहरीले यो उपलब्धिलाई निरन्तरता दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, प्रहरी परिचालन, पुराना पेन्डिङ मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयनलगायतका सूचकका आधारमा मासिक मूल्याङ्कन गर्दै आएको छ। ती सबै क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गरेकाले धादिङ प्रहरी उत्कृष्ट घोषित भएको हो।

त्यसैगरी पृथ्वी राजमार्गको संवेदनशीलतालाई ध्यानमा राख्दै सडक तथा सवारी सुरक्षा, दुर्घटना न्यूनीकरण अभियान, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन कायम, सरोकारवाला निकायसँग समन्वय तथा विपद् व्यवस्थापनमा देखाएको सक्रियताले पनि धादिङ प्रहरीलाई उच्च मूल्याङ्कन प्राप्त गर्न सहयोग पुगेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले पछिल्लो समय समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा स्कुल सम्पर्क कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी तथा समुदायमा अपराध, लागूऔषध दुव्र्यसन, साइबर अपराध, ट्राफिक सुरक्षा लगायतका विषयमा सचेतना फैलाउँदै आएको छ। स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध सञ्चालन गरिएका अभियानले पनि सकारात्मक परिणाम देखिएको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कन प्रणालीले संगठनभित्र स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता, उत्तरदायित्व र व्यावसायिकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यसले प्रहरी कर्मचारीमा जिम्मेवारीबोध बढाउनुका साथै नागरिकलाई प्रभावकारी, गुणस्तरीय र विश्वासिलो सुरक्षा सेवा प्रदान गर्न थप प्रेरणा मिलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

लगातार तेस्रो पटक प्रथम बन्न सफल भएपछि धादिङ प्रहरीले आगामी दिनमा पनि शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar