गल्छीमा ग्वाल समुदायलाई आधुनिक कृषि प्रविधि हस्तान्तरण, उत्पादन वृद्धि र आत्मनिर्भरतामा जोड

गल्छीमा ग्वाल समुदायलाई आधुनिक कृषि प्रविधि हस्तान्तरण, उत्पादन वृद्धि र आत्मनिर्भरतामा जोड

  • Kandara Samachar

  • आइतवार, असार २१, २०८३

  • 106
    SHARES
गल्छीमा ग्वाल समुदायलाई आधुनिक कृषि प्रविधि हस्तान्तरण, उत्पादन वृद्धि र आत्मनिर्भरतामा जोड

✍️ विषम श्रेष्ठ / गल्छी ।

धादिङको गल्छी गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि, श्रम लागत न्यूनीकरण तथा समुदायको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यसहित ‘ग्वाल समुदायको संरक्षण तथा प्रविधि हस्तान्तरण’ कार्यक्रमअन्तर्गत विभिन्न कृषि तथा पशुपालनसम्बन्धी उपकरण समुदायलाई हस्तान्तरण गरेको छ।

बागमती प्रदेश सरकारबाट हस्तान्तरण भएको उक्त कार्यक्रम गाउँपालिकामा आयोजित एक समारोहबीच सम्पन्न भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष राजन भुजेललगायत जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत ग्वाल समुदायको उत्पादन क्षमता अभिवृद्धि गर्ने, कृषि तथा पशुपालन क्षेत्रमा लाग्ने समय र श्रम घटाउने तथा आधुनिक प्रविधिको प्रयोगमार्फत व्यवसायिकता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत समुदायलाई ४ वटा ट्र्याक्टर, १ वटा चेन–स, २ वटा स्प्रे पम्प, १ वटा कम्बाइन मिल, २ वटा इलेक्ट्रोनिक कर्न सेलर, २ वटा डिजिटल वेटिङ मेसिन, १ वटा प्लेट फिड मेसिन तथा १ वटा च्याप कटर हस्तान्तरण गरिएको गल्छी गाउँ पालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी कर्मचारी सुजिना श्रेष्ठले जानकारी दिनुभयाे ।

ग्वाल समुदायको परम्परागत सीप, ज्ञान र संस्कृतिको संरक्षण गर्दै आधुनिक प्रविधिको प्रयोगबाट कृषि तथा पशुपालनलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउने उद्देश्य रहेको श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले खेतीपाती तथा पशुपालनमा लाग्ने समय र श्रमको बचत हुनुका साथै उत्पादन र उत्पादकत्वमा वृद्धि भई समुदायको आयआर्जन तथा आत्मनिर्भरतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै समुदायको आर्थिक अवस्था सुदृढ बनाउन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थप पहल गरिने जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar