धादिङ ।
देशका ११ जिल्लाका १३० स्थानमा बर्ड फ्लू (एच–५ एन–१) संक्रमण पुष्टि भएसँगै संघीय राजधानी काठमाडौंको प्रमुख प्रवेशद्वार धादिङमा उच्च सतर्कता अपनाइएको छ। संक्रमण फैलिन नदिन जिल्लाका मुख्य सीमा नाका तथा प्रवेश बिन्दुहरूमा कडाइ गर्दै विशेष निगरानी सुरु गरिएको छ।
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक ठूलो संख्यामा सवारीसाधन तथा कुखुरा तथा कुखुराजन्य वस्तु ओसारपसार हुने भएकाले जिल्लाभित्र बाहिरी जिल्लाबाट ल्याइने कुखुरा, चल्ला, अण्डा तथा अन्य चराचुरुङ्गीमाथि विशेष निगरानी बढाइएको हो।
जिल्ला स्तरीय बर्ड फ्लू प्राविधिक समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पशु सेवा कार्यालयको संयुक्त टोलीले मुख्य नाकाहरूमा नियमित चेकजाँच गरिरहेको छ। विशेषगरी संक्रमण पुष्टि भएका जिल्लाबाट आउने ढुवानी तथा आपूर्तिमाथि थप कडाइ गरिएको जनाइएको छ।
पशु सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार जिल्लामा भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको स्वास्थ्य अवस्था, भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र (भेटेरिनरी सर्टिफिकेट) लगायत अन्य आवश्यक कागजातको अनिवार्य परीक्षण भइरहेको छ।
उनका अनुसार जिल्लाका प्रवेश नाकामा प्रहरी टोलीले पनि नियमित चेकजाँच गरिरहेको छ। कुखुरा तथा अन्य चराचुरुङ्गी बोकेका सवारीसाधनलाई रोकेर कागजात, स्वास्थ्य अवस्था तथा ढुवानीसम्बन्धी विवरण परीक्षण गरिएपछि मात्र प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ। आवश्यक प्रक्रिया पूरा नगरेका तथा शंकास्पद वस्तुलाई जिल्लाभित्र प्रवेश गर्न नदिई फिर्ता पठाइने गरिएको छ।
डा. ठाकुरले आवश्यक परे बर्ड फ्लू नियन्त्रण नियमावली–२०७८ अनुसार जोखिमयुक्त क्षेत्रबाट ल्याइने कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार रोक्ने, नियन्त्रण गर्ने तथा नष्ट गर्नेसम्मका कानुनी व्यवस्था लागू गरिने बताए।
हालसम्म धादिङमा गरिएको अनुगमनका क्रममा बर्ड फ्लू संक्रमण पुष्टि हुने अवस्था नदेखिएको जनाइएको छ। यद्यपि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा उच्च सतर्कता अपनाइएको र निगरानीलाई अझ प्रभावकारी बनाइएको सम्बन्धित निकायले जनाएको छ।